वीरगंज, जेठ २३ । लकडाउनका कारण घरमा थुनिएर बस्नु परेका नागरिकले अहिलेको अवस्थामा कर तिर्न नसक्ने भन्दै सम्पूर्ण कर मिनाहा गर्न जनता समाजवादी पार्टी वीरगंज महानगर कमिटीले माग गरेको छ ।
कर मिनाहा गर्नुपर्ने माग गर्दै वीरगंज महानगर कमिटी अध्यक्ष लियाकत अलिको नेतृत्वमा वीरगंजमा शुक्रबार विरोध प्रदर्शन भएको छ । वीरगंजको विर्ताबाट शुरु भएको विरोध र्याली घण्टाघर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
अर्थमन्त्री राजिनामा दे, जनता मार्न पाईँदैन, नागरिकले तिर्नुपर्ने कर मिनाहा गर लगायतका नारा लगाउँदै वीरगंज परिक्रमा गरेका थिए । लकडाउनका कारण नागरिक अहिले घरभित्रै थुनिएको र अहिले आमदानीको माध्यम पनि नभएकाले सबैखाले कर मिनाहा गर्नु पर्ने उनीहरुको माग छ ।
कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष अलिले सरकारले नागरिकका समस्यालाई यथाशिघ्र सम्बोधन नगरे कडा संघर्षमा उत्रिने चेतावनी दिए । र्यालीपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र पठाएका छन् ।
र्यालीमा जनता समाजवादी पार्टी पर्साका उपाध्यक्ष मदन गुप्ता, सचिव उमेशलाल सहनी, वडा नम्वर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, अफरोज आलम, सलाउद्दीन मंसूरी, शौकत अली, जियाउल हक, ताज मंसूरी, जाजुल हवारी, युवा महानगर अध्यक्ष राजु गुप्ता, उमेश गुप्ता, युवा दस्ता का जिल्ला अध्यक्ष बिष्णु पटेल, विधार्थी नेता सगिर अलि, अंकित मिश्रा लगायतको सहभागीता रहेको थियो ।