वीरगंज, जेठ २५ । वीरगंज महानगरपालिकाले पिसिआर मेसिन र भिटिएम किट खरिदकालागि अगाडि बढाएको प्रक्रियालाई नागरिक समाजले स्वागत गर्दै छिटो भन्दा छिटो मेसिन स्थापित गरेर काम सूचारु गर्न सुझाव समेत दिएको छ ।
नागरिक समाजका अध्यक्ष डा. दीपक शाक्यको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमणलाई रोक्नकालागि द्रुतगतिमा धेरै भन्दा धेरै परिक्षण गरिनु पर्ने भएकोले पनि अब वीरगंज महानगरपालिका का मेयर विजय सरावगीको प्रयासलाई टुङ्गोमा पुर्याउनु पर्ने निष्कर्षमा नागरिक समाज पुगेको हो ।
महानगरको यो अभियान पर्साका नागरिकको जीवन रक्षाको विषयसँग सम्बन्धित भएकोले यो बेलामा सबैको एकिकृत प्रयास आवश्यक रहेको ठहर गर्दै नागरिक समाजले समाजका विभिन्न सरोकार राख्ने समुहलाई यो अभियानमा सहयोग पुर्याउन समेत अपिल गरेको छ ।
नागरिक समाजले एकमतका साथ पिसिआर मेसिन र भिटिएम किटको खरिद गरि द्रुतगतीमा कोरोना भाइरसको संक्रमण परिक्षण गरि औैधोगिक नगरी वीरगंज र समग्र पर्सा जिल्लालाई ग्रिन जोनमा लैजान सबैलाई सहकार्यकालागि अपिल गरेको डा. शाक्यले बताउनु भयो ।
नागरिक समाजको बैठकले राजनीतिक दलहरु, राजनीतिक क्षेत्रमा रहेका व्यक्ति र जनप्रतिनिधिहरुलाई आ-आफना राजनीतिक मुद्दालाई थाँती राखेर मानव सभ्यतामाथि नै चुनौती बनेको कोरोना भाइरसको नियन्त्रणमा भूमिका निर्वाह गर्न अपिल गरेको छ ।
विभिन्न समस्याहरु झेल्दै, अप्ठयाराहरु पार गर्दै वीरगंज महानगरपालिका कोरोना भाइरसको संक्रमण नियन्त्रणकोलागि ठिक दिशामा अगाढि बढेको नागरिक समाजले निष्कर्ष निकालेको छ ।
समाजले अहिले नागरिकको जीवनको सुरक्षाको सवाल पहिलो प्रथामिकता भएको निष्कर्ष निकाल्दै यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्ने निर्णय गरेको सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानले जानकारी दिनु भयो ।
बैठकमा वीरगंज उद्योग वाणिज्य संघ, नेपाल बार एशोसिएशन, नेपाल रेडक्रस सोसाइटी, बैंकर्स एशोसिएन लगायतका संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।