वीरगंज, जेठ २४ । विश्व वातावरण दिवसका अवसरमा शुक्रबार ‘म यो बिरूवा हुर्काउन प्रतिबद्ध छु’ भन्ने नाराका साथ सर्वसाधारणलाइ बिरूवा बाँडेको वातावरण जिउने आधार नामक संस्थाले शनिबार वीरगंजको सडक छेउमा हुर्काइएका बिरूवाहरूबारे अध्ययन शुरु गरेको छ ।
सडक छेउमा रोपिने बिरूवाहरूको पनि निश्चित मापदण्ड भएका कारण वीरगंज महानगरपालिका अन्तर्गत रहेका सडकको छेउमा रोपिएका बिरूवाहरू मापदण्ड बमोजिम छन् वा छैनन् भन्ने बुझ्नका लागि अध्ययन शुरू गरिएको संस्थाका राष्ट्रिय अध्यक्ष आकाश चौहानले बताएका छन् ।
शनिबारबाट शुरू गरिएको अध्ययन वीरगंज महानगरपालिकाका सबै वडाहरूमा गरिनेछ ।
अध्ययनको पहिलो दिन शनिबार संस्थाका वीरगंज कार्यवाहक अध्यक्ष सौरभ वर्णवालको नेतृत्वमा रहेको अध्ययन टोलिले आदर्शनगरको सडक छेउमा रोपिएका बिरूवाहरूबारे अध्ययन गरेको छ ।
अध्ययन टोलीमा संस्थाका राष्ट्रिय अध्यक्ष चौहन सहित प्रभाकर चौरसिया, मयन्क रौनियार, अमन दास, साहिल, दिपु वर्णवाल लगायतका रहेका छन् ।
आदर्शनगरको सडक छेउमा रोपिएका बिरूवाहरू मापदण्ड विपरीत रहेको संस्थाका राष्ट्रिय अध्यक्ष चौहानले बताए ।
उनले भने ‘एकै ठाउँमा दुइ–तीनवटा सम्म बिरूवाहरू रोपिएका छन् । आदर्शनगरमा रोपिएका बिरूवाहरू मध्ये अधिकांश बिरूवाहरू खेतबारीमा रोप्ने प्रकृतीका छन् ।’
अध्ययनका क्रममा सडक छेउमा आँप, अम्बा लगायतका विशाल वृक्षका बिरूवाहरू पनि भेटिएको चौहानले बताए । यस्ता बिरूवाहरू समयसँगै विशाल आकार लिन्छन् र यिनका जडाले सडकमा दरार ल्याएर सडकलाइ जिर्ण पारी दिन सक्छन् ।
साथै यस्ता वृक्षहरूले घना बस्तीका बासिन्दालाई नोुक्सानी पनि पुर्याउँछ ।
पर्यावरण सम्बन्धी यथेष्ट जानकारीको अभावमा यस्तो भएको हुनसक्ने चौहनले बताए । उनका अनुसार सडक छेउमा रोपिने बिरूवाहरूले पर्यावरणलाइ सुन्दर, सफा राख्नुका साथै सडकमा जम्मा हुने वर्षाको पानी सोख्ने खालको हुनुपर्छ ।
त्यस्तै सडकमा उत्पन्न हुने ध्वनी प्रदुषणलाई पनि न्युन पार्न सक्ने प्रकृतीका बिरूवाहरूको रोपण गर्न आवश्यक रहेको उनको भनाई छ ।
करिब दुईसातासम्म चल्ने यो अध्ययनले प्रतिवेदन समेत तयार पार्नेछ । यसरी तयार पारिएको प्रतिवेदनलाई सम्बन्धित निकायहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र सञ्चार माध्यममा सार्वजनिक गरिने लक्ष्य रहेको संस्थाका सञ्चार अधिकारी दिपु वर्णवालले बताए ।