काठमाडौं, जेठ २५ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई बनेको जनता समाजवादी पार्टीमा तीन जना अध्यक्ष रहने भएका छन्।
आइतबार दुबै पार्टीका शीर्ष नेताहरूबीच बालकुमारीस्थित पार्टी कार्यालयमा भएको छलफलमा तीन अध्यक्ष बनाएर पार्टी दर्ता गर्ने सहमति जुटेको हो ।
जनता समाजवादीले तीन अध्यक्ष रहने गरी दल दर्ता गर्न लागेको हो । एक जना संघीय परिषद अध्यक्ष र दुई जना केन्द्रीय परिषद अध्यक्ष रहनेछन् ।
संघीय परिषद अध्यक्षमा बाबुराम भट्टराई तथा केन्द्रीय परिषद अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको राजपाका एक नेताले जानकारी दिए ।
त्यसैगरी पाँच जनाको पदाधिकारी बनाउने पनि सहमति भएको हो ।
‘तीन जना अध्यक्ष र चौथो बरियतामा अशोक राई र पाँचौंमा राजेन्द्र महतो रहनुहुन्छ । राई र महतो वरिष्ठ नेता रहने सहमति छ,’ ती नेताले भने ।
दल दर्ताका लागि आज निर्वाचन आयोग जाने पनि तयारी छ ।
‘तीन अध्यक्षसहित पाँच पदाधिकारी र ५१ सदस्यीय केन्द्रीय समिति बनाउने गरी आयोगमा दल दर्ताका लागि जाने तयारी छ,’ ती नेताले भने, ‘अहिले पदाधिकारीको नाम मात्रै आयोगमा लैजाने तयारी छ।’
उक्त सहमतिलाई लिखित गर्न बाँकी रहेको ती नेताले बताए।
गत वैशाख १० गते मध्यरातमा समाजवादी र राजपा एकीकरणको सहमति भएको थियो । भोलिपल्ट दल दर्ता गर्न आयोग पुगे पनि केन्द्रीय समितिका निर्णय लगायत काजगात नपुगेकोले दर्ता भएको थिएन ।
नयाँ दल दर्ता गर्न आयोगमा निवेदन दिएको ४५ दिन पुगिसकेको छ ।