वीरगंज, जेठ २५ । वीरगंज महानगरपालिकाको कोरोना विपद् व्यवस्थापन कोषमा बैंक अफ काठमाडौंले आर्थिक सहयोग गरेको छ ।
वीरगंज महानगरपालिका कार्यालयले पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्री खरिदका लागि शुरु गरेको अभियानमा सहयोग स्वरुप बैंकले एक लाखको चेक हस्तान्तरण गरेको हो ।
बैंक अफ काठमाडौँ प्रदेश नं. २ का प्रबन्धक दिपक कुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले वीरगंज महानगरका मेयर विजय सरावगीलाई आज उनको कार्यकक्षमै भेटेर चेक हस्तान्तरण गरेका थियो ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रबन्धक श्रेष्ठले महानगरपालिकाद्वारा शुरु गरिएको अभियानमा अन्य सम्पूर्ण सरोकारवाला निकाय, क्षेत्र र वित्तीय संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गरे ।
उनले कोरोना भाइरसको युद्धमा सबै मिलेर अगाडी बढे अभियानले सार्थकता पाउने बताए ।
त्यसैगरी मेयर सरावगीले बैंक अफ काठमाडौंलाई धन्यवाद दिंदै महानगरपालिकाले खरिद गर्न लागेको पिसिआर मेसिनबाट छिट्टै परीक्षण शुरु हुने जानकारी दिए ।
चेक हस्तान्तरण कार्यक्रममा बैंक अफ काठमाडौँ वीरगंज शाखा प्रमुख सुरेश यादव, सहायक सम्पर्क प्रबन्धक संदेश पोखरेल, कन्हैया कुमार सिंह लगायतको उपस्थिति रहेको थियो ।