काठमाडौं, जेठ २६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना नियन्त्रणका लागि खर्च गरेको भनिएको १० अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न उठाएको छ ।
केन्द्रीय समितिको सोमबार बसेको आकस्मिक बैठकमार्फत कांग्रेसले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च गरेको भनिएको १० अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न उठाएको हो ।
‘सरकार कोरोना नियन्त्रणका लागि १० अर्ब रुपैयाँ खर्च भयो भन्दैछ । सरकारबाट खरिद भएका भनिएका सामान नक्कली देखिएका छन् । कहाँ कति रकम कसरी खर्च भयो, त्यो प्रस्ट भएन । बैठकमा सरकारले कोरोना नियन्त्रणका लागि सरकारी तवरबाट भएका खर्चको पारदर्शितामाथि प्रश्न उठेको छ,’ बैठकपछि कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले भने ।
बैठकमार्फत कांग्रेसले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्षसमेत निकालेको छ । बैठकपछि केन्द्रीय सदस्य रमेश लेखकले कोरोना नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल भएको बैठकको निष्कर्ष रहेको जानकारी दिए ।
‘स्वास्थ्य सामग्रीमा भ्रष्टाचार, आपूर्तिमा अन्योल र कमी, व्यवस्थित क्वारेन्टिनको अभाव, परीक्षण कीटको अभाव र न्यूनतम दायरालगायतले कोरोना नियन्त्रणमा सरकार असफल भएको प्रस्ट छ,’ लेखकले भने ।
कांग्रेसले बैठकमार्फत सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेका कामको अनुगमन गर्न सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा प्राविधिकसहितको अनुगमन समितिसमेत बनाएको नेता विश्वकर्माले जानकारी दिए ।
‘सरकारले गरेका राम्रा तथा नराम्रा काम, क्वारेन्टिन खर्च, क्वारेन्टिनको व्यवस्थापन तथा परीक्षणलगायतका विषयमा अनुगमन गर्न समिति बनाइएको हो । समितिले प्राविधिक हितको उपस्थितिमा देशभरको अवस्थाको अनुगमन गर्छ,’ नेता विश्वकर्माले भने ।
कांग्रेसले मुलुकमा कोरोना संक्रमणका कारण स्वास्थ्य संकट र आर्थिक संकट तथा भोकमरी आउन सक्नेतर्फ बैठकमार्फत नै सरकारलाई सचेत गराएको छ । यसैगरी, विदेशबाट ल्याउने भनिएका नागरिक, उनीहरूको स्वास्थ्य जाँच र उनीहरूलाई क्वारेन्टिनमा राख्ने र सुरक्षित रूपमा घर पठाउनेतर्फ सरकारले प्रभावकारी योजना बनाउन नसकेको कांग्रेसको निष्कर्ष छ ।
यसैगरी, संक्रमण बढ्दै जाँदा सरकारले त्यसको रोकथामका लागि उपयुक्त कदम चाल्न नसकेको र परीक्षणसमेत प्रभावकारी रूपमा व्यापक बनाउन नसकेको कांग्रेसले सरकारलाई आरोप लगाएको छ । सरकारले कोरोना नियन्त्रणका लागि लकडाउनलाई मात्र विकल्प देखेको कांग्रेसले भनेको छ ।
कांग्रेसले सरकार संकटको वर्तमान अवस्थामा समेत प्रभावकारी रूपमा अघि नबढेको भन्दै जनता प्रति उत्तरदायी बन्न र जिम्मेवार भूमिका देखाउँदै अवस्थालाई गम्भीर बन्नबाट रोक्न सरकारलाई ज्ञापनपत्र बुझाउने, सीमा र नक्साका विषयमा जस्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने निष्कर्षसमेत बैठकले निकालेको छ । ज्ञापनपत्र भने वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फत बुझाइने कांग्रेसले जनाएको छ ।
कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्नसमेत सरकारसँग कंग्रेसले माग गरेको छ ।
यस्तै, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र सञ्चारकर्मीलगायत अग्रपंक्तिमा रहेर काम गर्नेहरूका लागि स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउन पनि सरकारलाई कांग्रेसले बैठकमार्फत ध्यानाकर्षण गराएको छ ।