काठमाडौं, जेठ २६ । भारतले गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकका ५६ वटा माध्यमिक विद्यालयको पुनर्निर्माण गरिदिने भएको छ ।
सोमबार भारतीय राजदूतावास तथा शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइबीच यससम्बन्धी सातवटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
भारतीय दूतावासका अनुसार नेपालमा भूकम्पपश्चातको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको दुई अर्ब ९५ करोड आर्थिक सहयोगमा विद्यालयहरूको पुनर्निर्माण गरिनेछ ।
भूकम्पप्रतिरोधी क्षमता विद्यालयहरू नेपाल सरकारले तोकेको मापदण्डअनुसार पुनर्निर्माण हुने भारतीय दूतावासका प्रवक्ता अभिषेक दुबेले जानकारी दिए ।
शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधासहितका भवन बन्ने दुबेले बताए ।
भूकम्पप्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरूको पुनर्निर्माणका लागि प्राविधिक सहयोग गर्नेछ ।