वीरगंज, जेठ २७ । कोरोना संक्रमणको उपचारका लागि वीरगंज महानगनरले चलाएको अभियानमा वीरगंजका उद्यमी व्यवसायीले ७० लाख, ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले मंगलवार संघ र स्थानीय उद्यमी व्यवसायीबाट संकलन भएको चेक वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई हस्तान्तरण गरेका थिए ।
वीरगंजमा यती ठुलो परिमाणमा रकम जम्मा भएको यो पहिलो पटक हो । सहयोग हस्तान्तरण कार्यक्रममा वीउवासंघ र वीरगंज महानगरपालिकाको बीचमा पिसिआर मेसिन संचालन सम्बन्धी सम्झौता पत्र आदान प्रदान समेत भएको थियो ।
सो अवसरमा उद्योगी व्यवसायीहरुको तर्फबाट संघका अध्यक्ष गोपाल केडिया र वीरगंज महनागरपालिकाका मेयर विजय सरावगीले हस्ताक्षर गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर विजय सरावगीले पर्सालाई कोरोना मुक्त बनाउनको लागि खरिद हुने नयाँ पिसिआर मेसिन संचालन पछि सहयोग पुग्ने धारणा व्यक्त गर्नुभएको थियो ।
उहाँले सरकारी स्तरबाट सहयोग नभएपनि महानगर आफैले संचालन गरेर कोरोना मुक्त गराएरै छाड्ने दृढता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष गोपाल केडियाले संकटका बेलामा वीरगंजका उद्यमी व्यवसायीहरुले सहयोग गर्ने परम्परा रहेकोले यस अभियानमा वीरगंजका उद्योगी व्यवसायीहरुले स्वस्फूर्त रुपमा सहयोग गरेको धारणा व्यक्त गर्नु भएको थियो ।
महानगर र संघबीच भएको सम्झौतामा महानगरले वीरगंजका उद्यमी व्यवसायीले उपलब्ध गराएको रकमबाट स्वचालित रियल टाइम पिसिआर मेसिन खरिद गर्नुपर्ने उल्लेख छ ।
महानगरले १५ दिनभित्र मेसिन खरीद गरि सक्नुपर्नेछ । निजीक्षेत्रले उपलब्ध गराएको रकम पिसिआर मेसिन खरीद र जडानबाहेकको काममा खर्च गर्न नपाइने सम्झौतामा उल्लेख छ । कोरोना माहामारीले निकास पाइसकेपछि सो उपकरण महानगरले आवश्यकता अनुसार जनहितको काममा उपयोग गर्नुपर्ने छ ।
वीरगंजमा कोरोना संक्रमण फैलिन थालेपछि नारायणी अस्पतालको एउटा पिसिआर मेसिन अपर्याप्त भएको भन्दै महानगरले पूर्वाधार व्यवस्थापनका लागि सहयोग आह्वान गरेको थियो । कोरोना कोषमा अहिलेसम्म रु. १ करोड ४७ लाख ८१ हजार ८ सय ९१ रुपैयाँ संकलन भइसकेको महानगरले जनाएको छ ।
कार्यक्रममा उपमेयर शान्ति कार्की, कार्यकारी अधिकृत प्रदिप निरौला, उद्योगपति बाबुलाल चाचान, हिरालाल केडिया, बिरेन्द्र संघाइ, रामअवतार खण्डेलवाल, मुरलीधर रुङ्गटा, चिरञ्जिवि लाल सरावगी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, प्रिमियर इन्स्योरेन्स प्रदेश नम्बर २ का अधिकृत शशी बिचित्र, समाजसेवी संजय खेतान लगायत संचारकर्मी र उद्योगी व्यवसायी तथा कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।