वीरगंज, जेठ २७ । वीरगंज महानगरपालिकाले पिसिआर खरिद सम्बन्धी आव्हान गरेको बोलपत्र मंगलवार सम्म पाँच थान बिक्री भएको छ ।
महानगरपालिकाले पिसिआर खरिद सम्बन्धी पाँचदिने बोलपत्र प्रकाशन गरेको थियो । आज मंगलवार अन्तिम दिनसम्ममा पाँचवटा बोलपत्र बिक्री भएको वीरगंज महानगरपालिकाको जिन्सी शाखाले जानकारी दिएको छ ।
वीरगंज महानगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकोलागि बृहत रुपमा परिक्षण गर्नुपर्ने आवश्यकता महशुस गर्दै पिसिआर मेसिन खरिदका लागि बोलपत्र आव्हान गरेको थियो ।
पिसिआर मेसिन तथा भिटिएम किट खरिदकालागि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले आम नगरवासी, पर्साका स्थानीय सरकार र पर्सावासीलाई आर्थिक सहयोगकोलागि अपिल गर्नु भएको थियो ।
जनसहयोगमा पिसिआर मेसिन तथा भिटिएम किट खरिद गर्न महानगरले अभियान शुरु गरेसँगै बोलपत्र समेत आव्हान गरेको थियो । पिसिआर मेसिन तथा भिटिएम किट खरिदको मनसाय राखेर पाँचवटा कम्पनीले बोलपत्र खरिद गरेका छन् ।
स्नीयो इन्टरनेशनल प्रा.लि.काठमाण्डौं, सगरमाथा बायोमेडिकल इन्जिनियरिङ्ग काठमाण्डौं, जेएमएस इलेक्ट्रीक ट्रेडर्स, बायो मेडिकल प्रा.लि.काठमाण्डौं र अन्सु ट्रेड लिंक वीरगंजले बोलपत्र खरिद गरेका हुन् ।
कतिपय संचारमाध्यमले बोलपत्र खरिद गर्न नपाएको र सेटिङ्गमा पिसिआर मेसिन खरिद हुने सम्मका समाचार प्रकाशमा ल्याएका थिए ।
वीरगंज महानगरका प्रमुख विजय सरावगीको सालोसँग मिलेर सेटिङ्गमा पिसिआर मेसिन खरिद गर्ने तयारी रहेको ति समाचार माध्यमको दावी थियो ।
राणीसती ट्रेडिङ्गका संचालक दिनेश कनौडियालाई महानगर प्रमुख सरावगीको जबर्जस्ती सालो बनाइएको थियो । कनौडियाको कम्पनीले भने बोलपत्र खरिद गरेको देखिएको छैन् ।
सार्वजनीक खरिद ऐनले निर्दिष्ट गरे अनुसार पिसिआर मेसिन खरिद प्रक्रियाबाट अगाडि बढेको वीरगंज महानगरपालिकाले जनाएको छ । आजै मंगलवार वीरगंजका उद्योगी व्यवसायीले पिसिआर मेसिन खरिदकालागि ठुलो मात्रामा आर्थिक सहयोग समेत उपलब्ध गराएका छन् ।
वीरगंज उद्योग वाणिज्यसंघले ११ लाख ११ हजार १ सय ११, उद्योगपति बिरेन्द्र संघाइले २० लाख, बाबुलाल चाचानले १० लाख, अनिल रुँगटाले ५ लाख, राजेश अग्रवालले ६ लाख, आत्माराम काबराले ५ लाख, मुरलीधर रुँगटाले ५ लाख, अशोक वैद्यले २ लाख, सत्यनारायण क्यालले २ लाख, हिरालाल केडियाले ५ लाख, चिरन्जीवी लाल सरावगीले १ लाख सहयोग गर्नु भएको छ ।