वीरगंज, जेठ २८ । चौरसिया बरई सेवा समिति पर्साले पनि वीरगंज महानगरपालिकाको कोरोना कोषमा आर्थिक सहयोग गरेको छ ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले पर्सा जिल्लामा कोरोना परिक्षणको दायरा फराकिलो पारेर पर्सा जिल्लालाई ग्रिनजोनमा लैजाने उद्देश्यका साथ ठुलो क्षमताको पिसिआर मेसिन तथा भिटिएम किट खरिदका लागि सहयोग आह्वान गर्नु भएको थियो ।
सोही क्रममा समितिको तर्फबाट सामाजिक उत्तरदायित्व वहन गर्दै चौरसिया बरई सेवा समिति पर्साका अध्यक्ष रामाकान्त प्रसाद चौरसियाले आज महानगरपालिकाका मेयर विजय सरावगीलाई ५१ हजार ५ सय १ रुपैयाको चेक हस्तान्तरण गर्नु भएको हो ।
मेयर सरावगीले पर्सालाई ग्रिनजोन बनाउन शुरु गरेको अभियानमा आफूहरुले पनि सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै यस अभियानमा अरुलाई पनि सकेजति सहयोग गरेर हातेमालो गर्न अध्यक्ष चौरसियाले अपिल गर्नु भयो ।
चेक बुझ्दै मेयर सरावगीले अब छिट्टै पिसिआर मेसिन खरिद गरेर परिक्षणको दायरा फराकिलो बनाउने सबैको सपना साकार हुने विश्वास व्यक्त गर्नुभयो ।
चेक हस्तान्तरण कार्यक्रममा चौरसिया बरई सेवा समिति पर्साका उपाध्यक्ष शम्भु प्रसाद चौरसिया, लक्ष्मण चौरसिया, कोषाध्यक्ष धनन्जय चौरसिया, सहकोषाध्यक्ष धुर्व चौरसिया, सचिव सोनालाल चौरसिया, सदस्यहरु प्रेमचन्द्र चौरसिया, प्रेम प्रसाद चौरसिया, धिरज चौरसिया लगायतको सहभागिता रहेको थियो ।