काठमाडौं, जेठ २८ । सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यसैगरी निजी सवारीसाधन जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।
यो निर्णय भोलिदेखि नै लागू हुने एक मन्त्रीले लाई जानकारी दिए ।
उनका अनुसार जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ ।
विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् । यसबारे भोलि सरकारले विस्तृत जानकारी दिने उनले सुनाए ।
नेपालमा कोरोना भाइरस (कोभिड १९) को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत १० गतेबाट अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन रोकेको थियो भने ११ गतेबाट लकडाउन गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप गरिएको छ र पछिल्लो पटक थपिएको समय जेठ ३२ सम्म कायम छ ।
गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दबाव बढ्दै आएको थियो ।
सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो ।
विज्ञहरुले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए ।