वीरगंज, जेठ २८ । पर्साको जिराभवानी गाउँपालिका वडा न. ५ सखुवनियाको दलित बस्तीमा राहत वितरण गरिएको छ ।
विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि विगत ७८ दिनदेखि नेपाल सरकारले देशमा लागु गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्दै आएका गरीब तथा दलित परिवारहरु प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य डा. अञ्जु कुमारी यादवले आफ्नो व्यक्तिगत खर्चमा राहत वितरण गर्नु भएको छ ।
स्थानिय सरकारको ध्यान नपुगेको दलित बस्तीमा पुगेर राष्ट्रिय जनता पार्टीकी प्रदेशसभा सदस्य डा. यादवले १ सय ६० दलित परिवारलाई १ हप्ता पुग्ने गरी राहत स्वरुप खाद्यान्न सामग्री वितरण गर्नु भएको हो ।
राहतमा प्रति परिवार चामल, दाल, तेल, आलु, सोयाबिन, नुन लगायतका खाद्य सामाग्री वितरण गरिएको छ । यसका साथै सो क्षेत्रका एकल महिलाका लागि १० थान साडी समेत वितरण गरिएको छ ।
पुरा विश्व विषम परिस्थितीबाट गुज्रिरहेको अवस्थामा प्रदेश सभा सदस्य भन्दा पनि नागरीकको हिसाबले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्नो निर्वाचन क्षेत्र भन्दा बाहिर पनि राहत वितरण गर्नु भएको हो ।
अरु कसैलेपनि राहत वितरण नगरेको क्षेत्रमा एक पटकको अनुरोधमै आएर राहत वितरण गरेकोमा प्रदेश सभा सदस्य डा. यादवलाई सामाजिक अभियन्ता प्रकाश थारुले आभार व्यक्त गर्नु भएको छ ।
राहत वितरण कार्यक्रममा राष्ट्रिय जनता पार्टी पर्साका उपाध्यक्ष अनुज यादव, सामाजिक अभियन्ता प्रकाश थारु, युवा संघ नेपाल पर्साका अध्यक्ष महम्मद निजामुद्दिन लगायतको सहभागिता रहेको थियो ।
प्रदेश सभा सदस्य डा. यादवले यसअघि पनि वीरगंज महानगरपालिकाको कोरोना विपद् कोषमा आर्थिक सहयोग गर्नु भएको थियो ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले पिसिआर मेसिन र भिटिएम किट खरिदका लागि आह्वान गर्नु भएको कोषमा आफ्नो १ महिनाको पारिश्रमिक सहयोग गर्ने पहिलो प्रदेश सभा सदस्य समेत हुनुहुन्छ ।
डा. यादव विभिन्न समयमा यसैगरि गरिब र अति विपन्नहरुलाई सहयोग गर्दै आउनु भएको छ ।