जेठ २८, पेचिङ (चीन) । चिनियाँ अनुसन्धाताहरुले विकास गरेको कोभिड–१९ विरुद्धको सम्भावित खोपको जनावरहरुमा गरिएको परीक्षण सकारात्मक देखिएको छ ।
सरकारी औषधि कम्पनी चाइना नेशनल फर्मास्युटिकल ग्रुप (सिनोफार्म)ले बनाएको बीबीआईबीपी–कोरभी नामक सो खोप चीनले अहिले मानवमा परीक्षण गरिरहेको पाँच ओटा खोप मध्ये एक हो । कम्पनीले यो औषधि बाँदरमा परीक्षण गरेको थियो । परीक्षणको नतिजा सकारात्मक पाइएको बताइएको छ ।
खोपमा बाँदर, मुसा, गिनी पिग र खरायोमा संक्रामक सेलको वृद्धि रोक्ने क्षमता पाइएको अनुसन्धाताहरुले बताएका छन् । यो खोप हजारभन्दा बढी मानिसहरुमा पनि परीक्षण भइरहेको छ ।
पछिल्ला नतिजाहरुले बीबीआईबीपी–कोरभीको क्लिनिकल परीक्षणको थप मूल्यांकनलाई टेवा दिएको शनिवार मेडिकल जर्नल सेलमा प्रकाशित एक लेखमा अनुसन्धाताहरुले भनेका छन् । अहिले विश्वभर कोभिड–१९ का सय भन्दा बढी सम्भावित खोपहरुको विविध चरणमा विकास भइरहेको छ ।
अहिले अष्त्रजेनेका, पीफाईजर, बायोएनटेक, जोन्सन एण्ड जोन्सन, मेर्क, मोडेर्ना, सानोफी र चीनको क्यासिनो बायोलोजिक्सले तयार पारेको खोप भने मानवमा परीक्षण भइरहेको छ ।
यो खोप सुरक्षित देखिनुका साथै यसले जनवरमा प्रतिरोधात्मक क्षमता समेत बढाएको पाइएको छ । यसले संक्रमण बढाउने खालको एन्टिबडी समेत उत्पन्न नगराएको अनुसन्धाताहरु बताउँछन् ।
यसो भन्दैमा मानवमा पनि यस्तै नतिजा आउँछ भन्ने चाँहि होइन । यस खोप परियोजनामा सिनोफार्मले १ अर्ब युआन (१४ करोड १० लाख डलर) लगानी गरेको छ । सिनोफार्मले अर्को खोप पनि मानवमा परीक्षण गरिरहेको छ ।एजेन्सी