वीरगंज, जेठ २९ । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले प्रतिनिधि सभा संसदमा झूटो बोलेर सदनलाई नै भ्रममा पार्नु भएको छ ।
संघीय संसदको प्रतिनिधि सभामा बजेटको विषयमा चलेको छलफलमा बोल्दै सांसद यादवले कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले १० अर्ब खर्च गरेको हिसाबको जानकारी माग्ने क्रममा वीरगंज महानगरपालिकाले घर घरमा चन्दा मागेको भन्दै सदनमा झूटो कुरा बोल्नु भएको छ ।
वीरगंजको नारायणी अस्पतालको मातहतमा निजी अस्पताललाई कोरोना अस्पताल बनाएर त्यसको व्यवस्थापन वीरगंज महानगरपालिकाले गर्दै आएको र केन्द्र सरकारले खर्च नदिएको भन्दै घर घरमा चन्दा मागेको भनेर सांसद यादवले सदनमा नै झूटो कुरा बोलेका हुन् ।
उहाँले भन्नु भएको छ, ‘सरकारले कोभिड १९ को नियन्त्रणका लागि १० अर्ब खर्च भयो भनेर मिडियामा आईरहेको छ । त्यो त्यो त्यति बढी रकम के के मा खर्च भयो ? सम्मानित सदनलाई कहिले जानकारी हुन्छ ? र सरकारले कोभिड १९ अस्पताल वीरगंज नारायणी अस्पतालको पार्टको रुपमा एउटा प्राईभेट अस्पताल गण्डकलाई बनायो ? तर, खर्च चाहिँ भनिरहेको छ कि स्थानीय निकायले तिर्छ । तर, स्थानीय निकायले के भन्छ भने संघले मलाई एक रुपैया पठाएको छैन ।
त्यसैले अहिले वीरगंज बजारमा स्थानीय निकायले चन्दा घर घरमा गएर मागी रहेको छ । किनकी यहाँको नागरिकलाई बचाउनको निमित्त संघ तयार भएन र अब नागरिकले नै पैसाको व्यवस्था गर्नुपर्ने यो बारेमा सम्मानीय प्रधानमन्त्रीको जवाफ चाहियो धन्यवाद !’
सांसद यादवको उक्त भनाईले सदनमा झूटो कुरा बोलेको देखिएको छ । किनभने वीरगंज महानगरपालिकाले सार्वजनिक सूचना मार्फत नै आह्वान गरेको छ । सार्वजनिक सूचना मार्फत आह्वान गरेकैले अहिले वीरगंज महानगरपालिकामा व्यक्तिदेखि विभिन्न संघ संस्थाहरुले कोरोना कोषमा सहयोग गरिरहेका छन् ।
सार्वजनिक सूचना मार्फत आह्वान गरेको विषयलाई पनि जनताको उच्च आस्था बोकेको सम्मानित सदनमा घर घरमा गएर चन्दा उठाएको भनी झूटो कुरा बोलेर सम्मानित सदनलाई नै भ्रममा राख्ने प्रयास गर्नु भएको छ ।
एकजना जनताको जनप्रतिनिधिले सम्मानित सदनमा अर्को सरकारको विषयमा यसरी झूटो बोलेर बदनाम गर्न खोज्नु पदीय मर्यादा विपरीतको कार्य पनि हो ।