वीरगंज, जेठ ३० । नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य अनिल रुङ्गटाले पर्साको वर्थिङ्ग सेन्टरलाई स्वास्थ्य सामग्री वितरण गराएका छन् ।
नेता रुङ्गटाले शुक्रबार वीरगंजमा एक कार्यक्रमको आयोजना गरी पर्साको नारायणी अस्पताल, बागेश्वरी, बागवाना, बगही र बहुदरमाई नगरपालिकाको विश्रामपुरमा रहेको प्राथमिक स्वास्थ्य चौकीहरुको वर्थिङ्ग सेन्टरको लागि स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।
कोरोना भाइरसको कारणले गर्दा जुन सुरक्षा अपनाईरहेका छौं त्यो सुरक्षा आउने दिनहरुमा पनि अपनाउनु पर्ने भएकोले हामीलाई अहिले नै सजग बनाएको छ, नेता रुगंटाले भने, ‘अन्य कुनै रोग वा भाइरसबाट बच्नको लागि यसै प्रकारले सुरक्षा अपनाएर अगाडी बढ्नु पर्ने बानी बसाल्नुपर्छ ।’
सुरक्षित मातृत्व सञ्जाल महासंघले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेता रुङ्गटाले नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंह, बागेश्वरी तित्रौना प्राथमिक स्वास्थय चौकीका ईन्चार्ज चन्द्रशेखर चौधरी, बागवाना स्वास्थ्य चौकीका प्रदीप कुमार चौरसिया, बगही स्वास्थ्य चौकीका नागेन्द्र ठाकुर र बहुदरमाई नगरपालिकाका नितेन्द्र साहलाई हस्तान्तरण गरेका छन् ।
उपलब्ध गराईएको स्वास्थ्य सामग्रीमा पी.पी.ई ड्रेस ८ सेट, सेनेटाईजर, थरमल गन, पन्जा, एन ९५ मास्क, बुट, साबुन, स्यानेटरी प्याड, पेपर मास्क रहेको छ । स्वास्थ्य सामग्री वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव लगायतको उपस्थिति रहेको थियो ।