वीरगंज, जेठ ३२ । नेपाल तरुण दल पर्साले आज पप्पु कन्स्ट्रक्सनमाथि कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ ।
नेपाल तरुण दल पर्साका सचिव बिवेक चौरसियाको नेतृत्वमा गएको टोलीले प्रजिअ विष्णुकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै पर्सा जिल्ला लाई वीरगंजको सदरमुकामसँग जोड्ने हुलाकी राजमार्गमा रहेको अतिनै सम्वेदनशील तिलावे नदीको पुल बिगत ६ वर्षदेखि पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएर पुल निर्माणमा चरम लापरवाही गरि निर्माण कार्य अलपत्र बनाएको तथा बैकल्पिक बाटो प्रयोग गरि आवत जावत तथा सामानहरुको ढुवानी गर्न जनताले सास्ती भोग्नु परेको र पुल पारी पश्चिम तर्फ रहेका सम्पुर्ण उद्योग धन्दा तथा जनजीवन नराम्रोसँग प्रभावित भएकोमा पुलको ठेका लिई निर्माण कार्य अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सनमाथि कडा कार्वाहीको माग गरेको छ ।
वर्षा याममा पानी पर्दा बैकल्पिक बाटो समेत ठप्प हुने गरेको छ । त्यहाँको चालू अवस्थामा रहेको तिलावे पुलबाट पप्पु कन्स्ट्रक्सनले ६-७ महिना देखि आवतजावत बन्द गरेकोले त्यस ठाउँका स्थानियको जीवन कष्टकर बन्दै गएको छ, अबको केही दिन भित्र वर्षा याम शुरु हुने भएकोले पुलको बैकल्पिक बाटो गत वर्ष झैं खोलाले बगाइ यातायात बन्द हुने अवस्था सिर्जना भएकोले छिटो भन्दा छिटो समयमै पुरानो पुल संचालन गराउन स्थानीय प्रशासनसँग नेपाल तरुणदल पर्सा ले ज्ञापनपत्र मार्फत जोडदार माग गरेको छ ।
निर्माणाधीन पुललाई समय सिमा भित्र निर्माण पूरा गर्न गराउन माग गर्दै एक साता भित्र पुरानो पुललाई व्यवस्थित गरि संचालन नगरिए आम जनताले सास्ती खेप्नु पर्ने तथा त्यस ठाउँका स्थानिय बासिन्दा, व्यापारीहरुले ठूलो नोक्सानी बेहोर्नुपर्ने स्थिति सिर्जना हुने भएकोले जनताको हक अधिकार तथा आवत जावतको सुविधालाई मध्यनजर गर्दै नेपाल तरुण दल पर्सा कडा भन्दा कडा संघर्षमा उत्रने चेतावनी समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा नेपाल तरुण दल पर्साका सचिव बिवेक कुमार चौरसिया, अनिल यादव, फणिन्द्र पटेल, मिकु सिंह, उपनेश चौरसिया, जंगबहादुर पटेल, विकास तिवारी, केशव मिश्र, साबिर हुसेन लगायतको सहभागीता रहेको थियोे ।