वीरगंज, जेठ ३१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ पर्साले शनिबार सरकारविरूद्ध वीरगंजमा गरेकाे प्रदर्शनका क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
नेविसंघ पर्सा र ठाराब क्याम्पस इकाइ कमिटीकाे संयुक्त आयोजनामा भएकाे प्रदर्शनका क्रममा नेविसंघका जिल्ला सभापती विकास तिवारी, ठाकुरराम इकाइ सभापती मनाेज साह, जिल्ला उपाध्यक्ष शेष हजरा, सहसचिव रमेश यादव, पुर्व प्रदेश सदस्य अभय कर्ण, श्याम गुप्ता पक्राउ परेका हुन् ।
काेराेनाभाइरस महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेकाे भन्दै तीनै तहकाे सरकारकाे विरूद्धमा प्रदर्शन गरिएकाे हाे ।
वीरगंजकाे महावीरस्थान चाेकबाट शुरू भएकाे प्रदर्शन घण्टाघर चाेकमा आएर कोणसभामा परिणत भएको थियाे ।
प्रदर्शनका क्रममा प्रधानमन्त्री के पी ओली र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीकाे पुतला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेकाे थियाे । हस्तक्षेप गर्ने क्रममा प्रहरीले गरेकाे लाठीचार्जका कारण नेविसंघका दर्जनभन्दा बढी नेता कार्यकर्ता घाइते समेत भएका छन् ।
प्रहरीले लाठीचार्ज गर्ने क्रममा नेविसंघ ठाराब क्याम्पस इकाइ अध्यक्ष मनाेज कुमार साहकाे ढाडमा गम्भीर चाेट लागेकाे छ ।
‘सर्वसाधारणकाे घरभाडा, बैंक ब्याज, कर, विद्युत महशुल माफ गर’, ‘सर्वसाधारण उपचारकाे खाेजमा, सरकारकाे भ्रष्टाचारकाे माैजमा’, ‘हन्ड्रेड पर्सेन्ट पिसीआर’, ‘कालापनी, लिपुलेक हाम्रो हाे’, ‘सरकार खै ? १० अर्बको हिसाब खै ?, ‘कर केका लागि ?’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित नेविसंघ प्रदर्शनमा उत्रिएकाे थियाे ।
शान्तिपुर्ण रुपमा गर्न खाेजिएकाे प्रदर्शनका क्रममा भएकाे प्रहरी हस्तक्षेप उचित नभएकाे नेविसंघका पदाधिकारीहरूकाे भनाइ रहेको छ ।
पक्राउ परेका सबै नेता कार्यकर्ताहरुलाई प्रहरीले शनिवार बेलुका नै छाडेको थियो ।