वीरगंज, जेठ ३२ । प्रदेश नम्बर २ सरकारले असार १ गते ल्याउन लागेको २९ अर्बको बजेट प्रदेश सभा सचिवालयको बैठकबाट पारित हुन सकेको छैन् ।
सतापक्ष जनता समाजवादी पार्टीका करिब एक दर्जन प्रदेश सभा सदस्यहरु अनुपस्थित भएपछि निति तथा कार्यक्रम निर्णयार्थ सदनमा पेश हुन सकेको छैन् ।
प्रदेश सभा सदस्यहरुको अनुपस्थिति भएपछि सभामुख सरोजकुमार यादवले बजेटको निति तथा कार्यक्रम सदनमा पेश गर्न सक्नु भएन् ।
सचिवालयको अधिवेशनमा बोल्दै पर्साबाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित प्रदेश सांसद राजेश्वर साह तेलीले प्रदेश सरकारको रवैयाप्रति जनतामा घृणा बढ्दै गएको र प्रदेश सरकार भ्रष्टाचारमा लिप्त बन्दै गएकोमा स्पष्ट खाका सहितको निति तथा कार्यक्रम प्रस्तुत गर्न आग्रह गर्नुभयो ।
साहले सरकारको रवैया ठिक नभएको कारणले सत्ताधारी दलकै कतिपय प्रदेश सांसदहरुले विरोध गरेको बताउनुभयो ।
प्रदेश सरकारले एकलौटी रुपमा शुरुमा यो जिल्लामा यति पैसा विनियोजन गर्ने गरेको र पछि रकमान्तर गरी आ–आफनो निर्वाचन क्षेत्रमा पैसा खर्च गर्ने परिपाटीले विपक्षी दलहरु आक्रोशित बनेका छन् ।
शनिवारको बैठकमा तत्कालिन समाजवादी र राजपाकै करिब एक दर्जन प्रदेश सांसद उपस्थित नभएपछि सभामुखले निति तथा कार्यक्रमको विधेयक सदनमा पेश नगरेको नेपाली कांग्रेसका अर्का प्रदेश सांसद ओमप्रकाश शर्माले बताउनु भयो ।
प्रदेश २ मा समाजवादीसँग ३०, राजपासँग २५, नेकपासँग ३२, नेपाली कांग्रेससँग १९ र नेपाल संघीय समाजवादी पार्टीसँग १ गरी कुल १०७ जना सांसदहरु रहेका छन् ।