वीरगंज, जेठ ३२ । विश्वभरि १४ जुनका दिन विभिन्न समयमा रक्तदान गर्ने रक्तदाता एवं कार्यक्रम आयोजना गर्ने संस्थाहरुको योगदानको कदर स्वरुप मनाउँदै आएको विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजमा पनि दिप प्रज्वलन गरि मनाइएको छ ।
विश्वभरी नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई ध्यानमा राखी सामाजिक दुरिको पालना एवं मास्कको अनिवार्य प्रयोग गरि आ–आफ्नो परिवारको समेत ध्यान राख्नको लागि कार्यक्रममा जोड दिइएको थियो ।
ब्लड डोनर्स एसोसिएसन नेपाल, पर्साका सचिव अरबिन्द सिंहको अध्यक्षतामा भएको दिप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्रराज कँडेलले रक्तदान कार्यक्रमहरुमा उल्लेखनीय भुमिका खेल्दै आएका साथै रेडक्रसलाई विभिन्न सेवामुलक कार्यमा समेत समन्वय गरि सहयोग गर्दै रगतको मागलाई पुर्ती गर्दै आएकोमा एसोसिएसनका सम्पुर्ण निकाय एवं सदस्यहरुमा रेडक्रस पर्साको तर्फबाट हार्दिक धन्यवाद एवं विश्व रक्तदाता दिवसको शुभकामना व्यक्त गर्दै दिप प्रजवलन गरि कार्यक्रमको उदघाटन गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले यस बन्दाबन्दी एवं कोरोना महामारीको समयमा पनि रगतको कमी हुन नदिएको यस एसोसिएसन र रेडक्रसको यात्रा निकै सराहनिय रहेको एवं रेडक्रसद्वारा संचालित रक्तसञ्चार केन्द्रले सबैलाई एकसमान सेवा पुर्याउँदै आएको कुरा समेत निकै उल्लेखनीय रहेकोमा दिवसको अवसरमा सबै सहभागीलाई बधाई दिएका थिए ।
कार्यक्रमको समापन गर्दै एसोसिएसनका सचिव अरबिन्द सिंहले रगतको कमीलाई पुर्ती गर्ने यात्रामा हामी मात्र होइन रक्तदान कार्यक्रमको आयोजना गर्ने सबै संस्था साथै हातेमालो गर्ने रेडक्रसको समन्वय बिना केही सम्भव हुन नसक्ने भएकोले हामी सबै रगतको यात्रामा निस्पक्ष एवं निस्वार्थ रुपले आउने दिनमा समेत हातेमालो गर्दै बिरामीको जीवन जोगाउनमा साथ साथ हुनेछौं भनी अपेक्षा राख्दै सबैलाइ विश्व रक्तदाता दिवसको शुभकामना ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।
घण्टाघरमा सम्पन्न कार्यक्रममा बिमला तिमिल्सिना, प्रभाकर गुप्ता, उमेश मिश्र, अनिसकान्त कुशवाहा, कमलेस कुशवाहा, बिरेन्द्र शाह, देवेस गुप्ता, अजय शर्मा, सतिश सिंह राजपुत, आकाश चौहान, शेष हजरा, शिवम केडिया, दिलपाल शाह लगायत ६५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन एसोसिएसनका उमेश गुप्ताले गरेका थिए भने भोलेन्टियर समुह वीरगंजका श्याम गुप्ता, पीयूष कादमियाले सहकार्य गरेको कुरा आकस्मिक रक्तदाता समुहका सचिव राजन श्रीवास्तवले जानकारी गराएका छन् ।