संजिव मिश्रा
वीरगंज, फागुन १
वीरगंजबाट प्रकाशित वीरगञ्ज न्युज २४ दैनिकले आफ्नो प्रथम वार्षिकोत्सव कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । वीरगंजको रोयल पार्टी प्यालेसमा एक कार्यक्रम गरी पत्रिकाले प्रथम वार्षिकोत्सव मनाएको हो ।
पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, पर्सा शाखा अध्यक्ष श्याम वन्जारा, आर्थिक पत्रकार संघ (इजा) नेपालका केन्द्रिय अध्यक्ष विजय कुशवाहा, प्रेस संगठनका केन्द्रिय सदस्य राघव साह, बृजलाल पासवान लगायतकाले आ-आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सांसद यादवले पत्रकारकै कारण देशमा ठुला ठुला भ्रष्टाचारका घट्नाहरु उजागर भएको बताउनुभयो । उहाँले वाईड बडी, ललिता निवास लगायत कयौं घटनाहरु पत्रकारकै कारण उजागर भएको चर्चा गर्नुभएको थियो ।
उहाँले शहर केन्द्रित पत्रकारितालाई ग्रामिण भेगमा विस्तार गर्ने कुरामा जोड दिनुभएको थियो ।
यादवले समाजमा विद्यमान कुरती, विसंगती, भ्रष्टाचार लगायतको विषयमा कलम चलाई सरकारलाई खबरदारी गर्न समेत आग्रह गर्नुभयो । यादवले पत्रकारीता क्षेत्रमा देखिएका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्न पर्सेली पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
उहाँले प्रजातन्त्र आएपछि नेपालमा ठूलो मात्रामा भ्रष्टाचार मौलाएको चर्चा गर्नुहुँदै त्यस यताका राजनीतिक दलका नेता एवं कर्मचारीको सम्पति छानबिन गरी दोषी ठहरिए जेल कोच्नुपर्ने धारणा समेत राख्नुभयो ।
पत्रिकाको प्रकाशक अखिलेश साहको अध्यक्षतामा भएको कार्यक्रममा राजपा नेपालका महासचिव राजेशमान सिंह, प्रेस नेपालका केन्द्रिय सदस्य अनिल तिवारी, नेपाल पत्रकार महासंघ प्रदेश २ का प्रदेश सदस्य जगत राई लगायतको सहभागिता रहेको थियो ।