वीरगंज, असार २ । सुरक्षाकर्मीको मिलोमतोमा बारा र रौतहटको सीमा क्षेत्रका ग्रामिण इलाका हुँदै अहिले व्यापक रुपमा तस्करी भइरहेको छ ।
सिमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा नेपाली र भारतीयहरुको संगठित तस्कर गिरोहले लकडाउनको समयमा समेत व्यापक रुपमा तस्करी गरिरहेको समाचार प्राप्त भएको छ ।
बारा र रौतहटको सिमानामा पर्ने बंकुल, कचोर्वा, सिम्रौनगढ, कबही, पिपरपाती, मटिअर्वा मुसहर्वा लगायतका नाकाबाट मोटरसाइकल एवं साइकलमा राखेर भारतबाट कपडा, चिनी, स्पेयर पार्टस, खैनी, गुटखा लगायत भारतीय सामान अवैधरुपमा प्रहरीकै मिलोमतोमा भन्सार छलेर तस्करी भइरेको छ ।
त्यसैगरी नेपालबाट विभिन्न ब्राण्डको मदिरा लगायत केही चिनियाँ सामान तस्करीको माध्यमले भारततर्फ पठाईने गरिएको छ ।
केहीसमय अघि आर्थिक लोभमा परेर तस्करी गराएको आरोपमा मठिया प्रहरी चौकीका तत्कालिन प्रमुख गोविन्द यादवलाई डिआईजी धिरजप्रताप सिंहको निर्देशनमा कार्वाही गरिएको थियो ।
उता सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआईजी राजु अर्यालको निर्देशनमा बोर्डर आउटपोष्ट बंकुल, बेलबिछवा, बाराको सिम्रौनगढ, तथा पर्साका केही पोष्ट लगायत ८ वटा बिओपीका ईन्चार्ज सशस्त्र प्रहरी निरिक्षकहरुलाई कार्वाही भएको थियो ।