वीरगंज, असार २ । लकडाउनले गर्दा अर्थतन्त्रको विविध क्षेत्रमा नकारात्मक असर पर्नुका साथै यसले निर्माण क्षेत्र सबै भन्दा बढी प्रभावित भएको छ ।
एकातर्फ निर्माण योजनाहरु बन्द भएका छन् भने अर्को तर्फ निर्माणजन्य सामग्री उत्पादन गर्ने उद्योगहरुको अर्बौं रुपैयाँ बजारमा डुबेको छ ।
फलामजन्य उद्योगमा मात्रै नेपालको करीब २० वटा उद्योगमा २ खर्बको लगानी रहेको छ भने सिमेन्ट उद्योगमा २ खर्ब गरी ४ खर्ब भन्दा बढीको लगानी अहिले जोखिममा परेको वीरगंजका उद्योगी अनिल रूङ्गटाले बताउनु भयो ।
सिमेन्ट, छड, पाइप जस्ता पाता एङ्गल, च्यानल, बिम लगायत उत्पादन गर्ने उद्योगहरुको बजारमा कम्तीमा ५० अर्ब रुपैयाँ डुबेको बताउनुभयोे ।
वीरगंज–पथलैया औद्योगिक कोरीडोरको जीतपुरमा रहेको जगदम्बा इन्टरप्राइजेजका सञ्चालकसमेत रहेका रूङ्गटाले वीरगंजका करीब दुई दर्जन उद्योगको मात्रै नेपालभरिको बजारमा २५ अर्ब डुबेको जानकारी दिनुभयोे ।
निर्माण आयोजनाहरु सुस्त गतिमा चल्नु, निर्माण व्यवसायीलाई सरकारले गर्ने भुक्तानीमा ढिलाइ हुनु, लकडाउनले गर्दा बिक्री भएको सामानको पैसा उठ्न नसक्नु र चेक तथा बिल बिजकबाट बिक्री भएको उधारोको बारेमा सरकारको स्पष्ट नीति नहुँदा उद्योगी, व्यवसायीको पैसा डुब्ने खतरा बढेको रूङ्गटाले बताउनुभयो ।
निर्माण जन्य उद्योगहरु लकडाउन अघि देखि नै प्रभावित भएको अवस्थामा उल्टै लकडाउनले झन पिडा थपेको व्यवसायीहरुले बताएका छन् ।