वीरगंज, असार २ । वीरगंजकोे आदर्शनगर क्षेत्रमा सुरक्षार्थ राखिएको एसटीएफका सुरक्षाकर्मीले व्यवसायीहरुसँग रकम असुल्ने गरेको गुनासो आएको छ ।
सो क्षेत्रका उद्योगी व्यवसायी, ट्रान्सपोर्टबाट एसटीएफका सुरक्षाकर्मीले पैसा असुल्ने गरेको पिडितहरुले बताएका छन् ।
किराना पसले, चिया पसले, नास्ता पसले तथा होटलहरुबाट एसटीएफ बिटका ईन्चार्ज सूर्यनारायण चौधरीले पैसा असुल्ने गरेको बताईएको छ ।
लकडाउन खुलि सक्दा पनि किन पसल खोलेको, रातिमा धेरै बेर खोल्न पाइँदैन भन्दै व्यापारीलाई डर त्रास देखाएर पैसा असुल्ने गरेको जनाईएको छ ।
लकडाउनमा प्रहरी नायब निरीक्षक चौधरीले होटल कैलाश, पुजन, म्याजिक बेल लगायतका आधा दर्जन होटलका सञ्चालकहरुसँग मासिक १० हजार असुल्दै होटल सञ्चालन गर्न दिएको पनि रहस्य खुलेको छ ।
यसैक्रममा तीन दिन अघि कैलाश होटलका सञ्चालकलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको थियो । लकडाउनमा होटल चलाएर संक्रमण फैलाउन मद्दत गरेको भन्दै उनलाई नियन्त्रणमा लिई पहिलो चोटी चेतावनी दिएर छाडिएको थियो ।
होटल संचालक पक्राउ परेपछि होटल व्यवसायीहरुले होटलबाट पैसा पनि खाने, व्यवसाय पनि संचालन गर्न नदिने भन्दै आक्रोश व्यक्त गरेका थिए ।