वीरगंज, असार ४ । नेपाल विद्यार्थी संघले कोरोना महामारी नियन्त्रणमा तिनै तहका सरकारको भूमिका प्रभावकारी नभएको भन्दै आज वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई ज्ञापनपत्र बुझाएको छ ।
नेविसंघले बुझाएको ज्ञापन पत्रमा लकडाउनका कारण स्कुल कलेज बन्द भई विधार्थीहरुको शैक्षिक भविष्य अन्यौल भएको बेला वीरगंज महानगरपालिकाले विद्यालयमा क्वारेन्टाईन राखेर विद्यार्थीको भविष्य चौपट बनाउने रणनीतिमा लागेको भन्दै तत्काल विद्यालयबाट क्वारेन्टाईन हटाउन माग गरेको छ ।
नेविसंघले कोभिड–१९ को महामारी नियन्त्रण गर्न यसका अल्पकालिन र दीर्घकालिन नाकारात्मक प्रभाव न्यून गर्न तथा जनताको सरोकार र आवश्यकताको विषयलाई सम्बोधन गराउन अविलम्ब कदम चाल्न महानगरपालिकालाई आग्रह गरेको छ ।
नेविसंघको ज्ञापन पत्रमा ठाकुरराम बहुमुखी क्याम्पस लगायत वीरगंजमा रहेका सम्पूर्ण विद्यालयहरुको क्वारेन्टाइनलाई मानवीय मापदण्ड अनुसार व्यवस्थित गर्नुपर्ने, ठाकुरराम बहुमुखी क्याम्पस लगायत वीरगंज महानगरमा रहेका सम्पूर्ण विद्यालयहरु जुन क्वारेन्टाइनको रुपमा प्रयोग भई सकेका छन् वा प्रयोगमा छन् त्यसको सम्पूर्ण बिजुली बिलको भुक्तानी, शौचालय सरसफाई तथा सेनेट्राइज गर्ने कार्य यथाशीघ्र गर्नुपर्ने, वीरगंज महानगरपालिकामा रहेका घरहरुको लाग्ने घरभाडा, व्यवसायिक कर मिनाह गर्नुपर्ने लगायतका मागहरु समेटिएको छ ।
नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पसका इकाई अध्यक्ष मनोज साह, जी.पी.कोईराला फाउण्डेशन पर्साका सचिव धिरज गुप्ता, नेविसंघका सदस्यहरु राहुल शर्मा, अंजन गुप्ता, भुपेन्द्र यादव, राजा गुप्ता लगायतको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको थियो ।