वीरगंज, असार ४ । वीरगंजका औद्योगिक घरानाहरुले कोरोना भाइरस संक्रमण परीक्षणका लागि वीरगंज महानगरपालिकाले खरिद गर्न लागेको पिसिआर मेसिन एवं भिटिएम किट खरिदका लागि २७ लाख रुपैयाँको चेक उद्योगपति अशोक बैधले बिहीबार वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई हस्तान्तरण गरेका छन् ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले पर्सा जिल्लालाई नै कोरोना मुक्त बनाई ‘ग्रिनजोन’ मा ल्याएर आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि परीक्षणको दायरालाई बढाउनुपर्ने आवश्यकता रहेको र त्यसका लागि पीसीआर मेसिन खरिद गर्नुपर्ने भएपछि आर्थिक सहयोग आह्वान गरेका थिए ।
सोहीअनुसार वीरगंजका प्रतिष्ठित उद्योगी व्यवसायीहरुले मेसिन खरिदका लागि एकमुष्ठ रुपमा ७० लाख सहयोग गर्ने घोषणासहित महानगरपालिकासँग गरेको सम्झौता बमोजिमको सहयोग गरेका हुन् ।
घोषणा अनुरुपको चेकहरु केही उद्योगी व्यवसायीहरुले बिहीबार महानगरपालिकाका मेयर सरावगीलाई हस्तान्तरण गरेका हुन् । एरोटक प्रा.लि.ले २ लाख ५० हजार, एपेक्स फर्मास्युटिकल्स २ लाख ५० हजार, इन्दुशंकर चिनी मिलद्वारा ५ लाख, नारायणी तेल रिफाइनरी उद्योग १० लाख, कन्साई नेरोलेक जापान प्राइभेट लिमिटेडले २ लाख र चाओबिरो फिड इन्डस्ट्रिजले ५ लाख गरी २७ लाखको चेक मेयर सरावगीलाई हस्तान्तरण गरिएको उद्योगपति अशोक बैधले जानकारी गराएका छन् ।
महानगरलाई प्राप्त चेकहरु पूर्व घोषित ७० लाख मध्यकै रकम हो । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि महानगरपालिकाले एक करोडको कोरोना कोष स्थापना गरेको छ ।
बिहीबार प्राप्त २७ लाखको चेक र महानगरपालिकाको १ करोड गरी जम्मा १ करोड ९९ लाख ६७ हजार ४ सय ७३ रुपैयाँ रकम महानगरपालिकाको कोरोना विपद् कोषमा जम्मा भइसकेको महानगरपालिकाका प्रशासकीय अधिकृत विकास मिश्रले जानकारी दिए ।
वीरगंजलाई कोरोना मुक्त बनाउन पिसिआर परीक्षण नै मुख्य कार्य भएकाले त्यसलाई केन्द्रीत गरेर महानगरपालिकका मेयर सरावगीले अभियान नै चलाएका थिए ।
उनले थालेको अभियान अहिले अन्य प्रदेशका स्थानीय तहहरुले समेत अनुसरण गर्न थालेका छन् । महानगरले मात्रै होइन सूदुरपश्चिम प्रदेशमा गाउँपालिकाहरुले समेत पिसिआर मेसिन आफैंले खरिद गर्ने तयारीमा रहेका छन् ।