वीरगंज, असार ५ । बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएको प्रवेशद्वारमा अवरोध सृजना गरेको जनाईएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा पर्सा क्षेत्र नम्बर २ का सांसद विमल प्रसाद श्रीवास्तवका प्रतिनिधि पुरुषोत्तमलाल झाले प्रवेशद्वार निर्माणमा अवरोध सृजना गर्ने साहलाई कार्वाही गर्न माग गर्नु भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा कार्वाहीकालागि दिईएको उजुरीमा ४२ लाख भन्दा बढी रकमको लागतमा पर्सा क्षेत्र नम्बर २ को विभिन्न ६ स्थानमा प्रवेशद्वार निर्माण गर्ने योजना अन्तर्गत हाल वीरगंज महानगरपालिकाको वडा नम्बर १९ बिन्दवासिनी देखि बैरियाविर्ता जाने सडकमा पर्ने पानीटंकी नजिकै वीरगंज महानगरपालिका वडा नम्बर २७ स्थित तिलावे पुल देखि डोकैला बहुअरी जाने सडक र पर्सागढी र बहुदरमाई जाने सडकमा गरि ३ ठाउँमा प्रवेशद्वार निर्माण भईरहेको जनाइएको छ ।
प्रवेशद्वार निर्माण कार्यमा सहयोग गर्नु पर्नेमा उल्टै बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले विभिन्न बखेडा झिकेर अवरोध खडा गरेको उजुरीमा उल्लेख गरिएको छ ।
स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम संचालन कार्यविधि नियमावली २०७६ को नियम ३ अनुसार भईरहेको प्रवेशद्वार निर्माणलाई स्थानिय तहका प्रमुखले नै अवरोध पुर्याउन खोजेको भन्दै मेयर साहलाई कार्वाही गर्न माग गरिएको छ ।
मेयर साह विरुद्ध उजुरी दिन सांसद विमल श्रीवास्तवका प्रतिनिधि पुरुषोत्तम झा सँगै सांसद पिए चन्दन मिश्र, जनता समाजवादी पार्टीका नेता शिव पटेल, रामनरेश यादव, तबरेज अहमद लगायतका नेता जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका थिए ।