वीरगंज, असार ५ । नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदुवा, लहसुन र बेसार उपहार पठाएको छ ।
नेविसंघ ठाकुरराम बहुमुखी क्याम्पस ईकाई समिति वीरगंजका अध्यक्ष मनोज कुमार साहको नेतुत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदुवा, लहसुन र बेसार उपहार पठाएको हो ।
विश्वभरी कोरोनाको महामारीले नेपाल लगायत पुरै विश्व नै आक्रन्त रहेको बेला कोरोना विरुद्धको संघर्षका क्रममा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानिय सरकारले गम्भीरता नदेखाउँदा माहामारीको जोखिम अप्रत्यासित रुपमा तिब्र गतिमा बढ्दै गइरहेको नेविसंघले आरोप लगाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रजिअ कार्की मार्फत उपहार पठाउने क्रममा ‘लकडाउनको अवधिभर आम नागरिकहरुमा त्रास बढ्दै गैरहेको अवस्थामा सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीज्युले जनतालाई ईम्युनिटी बढाउन अदुवा, लहसुन र बेसार खान प्रेरित गर्नु भएको हुँदा यदि यि वस्तुहरुले ईम्युनिटी बढाउने हो भने सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीज्युको सुस्वाथ्य लाभको कामना गर्दै ईम्युनिटी बढाउन नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस ईकाई समितिको तर्फबाट अदुवा, लहसुन र बेसार उपहार पठाएका छौं,’ अध्यक्ष मनोजकुमार साहले जानकारी गराएका थिए ।
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई उपहार दिन नेविसंघका युवा नेता धिरज गुप्ता, बिनोद पाण्डे, अन्जन गुप्ता, उपेन्द्र यादव, राहुल शर्मा, राजीव गुप्ता, राजा गुप्ता, जयप्रकाश ठाकुर, राम महतो, भुपेन्दर यादव लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।