वीरगंज, असार ५ । धान रोपाइको समयमा रासायनिक मलको अभाव भएपछि पर्साका किसानहरू चिन्तित भएका छन् ।
रोपाइको समयमा विशेष गरि डिएपी, यूरिया र पोटास जस्ता रासायनिक मलको आवश्यकता पर्दछ । तर अहिले बजारमा रासायनिक मल नहुँदा किसानहरु मल खोज्दै भैतारिएका छन् ।
जिराभवानी गाउँपालिका वडा नं १ बेल्वाका किसान प्रभु मुखिया बिनले यूरिया मल खोज्दै तीन दिन बितेको बताउँदै आज पटेर्वासुगौली गाउँपालिका वडा नं ४ को सुगौलीमा मल पाए पनि प्रति बोरा एक हजार एक सय रुपैयाँमा खरिद गरेको बताउनु भयो ।
गाउँमा रहेका कृषि सहकारी संस्थामार्फत डिएपी तथा पोटास मल पाए पनि यूरिया मलको हाहाकार रहेको किसानहरुले गुनासो गरेका छन् ।
पटेर्वा सुगौली गाउँपालिका वडा नं २ बेल्वा निवासी रामपुजन चौधरीले कृषि सहकारी संस्थाबाट मल लिन निकै कठिनाइ भोग्नु परेको गुनासो गर्नु भयो ।
मलको दाम एक साता पहिले नै सखुवा प्रसौनी गाउँपालिकाका देउरवाना स्थित कृषि सहकारी संस्थामा जम्मा गरेको तर दुई साता बिते पनि मल नपाएको बताउनु भयो ।
अहिले साल्ट ट्रेडिङ कम्पनी तथा कृषि सामग्री कम्पनीले मल कृषि सहकारी संस्थालाई मल बितरण गर्दै आएका छन् ।
यी कम्पनीहरुले यूरिया प्रति बोरा ७५० रुपैयाँ र डिएपी मल प्रति बोरा २ हजार दुई सय रुपैयाँ बिक्री मूल्य तोकेका छन् तर बजारमा यूरिया प्रति बोरा एक हजार एक सय रुपैयाँ र डिएपी मल प्रति बोरा दुई हजार तीन सय रुपैयाँ सम्ममा बिक्री भई रहेको छ ।
ठोरी गाउँपालिका वडा नं ४ बिजयबस्तीका रामबहादुर श्रेष्ठले मल अभाव बढ्दै गएको र ठोरी गाउँपालिकाको लापरवाहीको कारण किसानहरु तोकेको मुल्य भन्दा बढीमा मल खरिद गर्न बाध्य भएको बताउनु भयो ।
कोरोना संक्रमणको कारण घोषित लकडाउनले भारतीय सिमाना सिल गरिएको हुँदा भारतबाट मलको आपूर्ति पूर्ण रुपमा रोकिएको हुँदा किसानहरु थप समस्यामा परेको श्रेष्ठले जानकारी दिनुभयो ।