वीरगंज, असार ६ । वीरगंज महानगरपालिकाले कोरोना परीक्षण गर्न खरिद गरेको पिसिआर मेसिन नारायणी अस्पताललाई हस्तान्तरण गरेको छ ।
वीरगंज उद्योग वाणिज्य संघ तथा वीरगंजका उद्योगी व्यवसायी तथा विभिन्न संघ संस्थाहरुको आर्थिक सहयोगमा खरिद गरिएको पिसिआर मेसिन शनिबार एक कार्यक्रमको आयोजना गरी नारायणी अस्पताललाई हस्तान्तरण गरिएको हो ।
पिसिआर मेसिन हस्तान्तरण कार्यक्रममा महानगरपालिकाद्वारा खरिद गरिएको पिसिआर मेसिन प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन उपाध्यायलाई हस्तान्तरण गर्नु भएको थियो ।
पिसिआर मेसिन हस्तान्तरण र संचालनको विषयमा भने वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी र मेडिकल सुपरिटेण्डेण्ट डा. मदन उपाध्यायले हस्ताक्षर गर्नुभएको छ ।
पिसिआर मेसिन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि तीन तहको सरकारबीच समन्वय अभाव देखिएको बताउनुभयो ।
उहाँले प्रदेश सरकारको तर्फबाट व्यावस्थापनका लागि आर्थिक सहयोगको कुनै कमी नगरेको दाबी गर्दै संघ सरकारले कोरोना महामारी व्यवस्थापनमा केही पनि सहयोग नगरेको आरोप लगाउनुभयो ।
उहाँले अन्य प्रदेशले भन्दा बढी कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश नम्बर २ सरकारले खर्च गरेको पनि दाबी गर्नुभयो ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले कोरोना भाइरस विस्तारै नेपालको ७७ जिल्लामा पुग्ने अवस्था रहेकोले वीरगंज देशको मुख्य प्रवेशद्वार र आर्थिक गतिविधि हुने स्थान भएकोले अझैपनि जोखिम कायम रहेको बताउनुभयो ।
उहाँले त्यहि जोखिम कम गर्नकालागि ठुलो क्षमताको पिसिआर मेसिनको आवश्यक्ता महशुस गरेर नै महानगरपालिकाले सहयोग आह्वान गरेपछि वीरगंजका उद्योगी व्यवसायी, विभिन्न संघ संस्था र व्यक्तिहरुको सहयोगमा पिसिआर मेसिन खरिद गर्न सफल भएको बताउनुभयो ।
उहाँले पिसिआर मेसिन जडान भएपछि प्रत्येक घरबाट एकजनाको परीक्षण गरिने र यसले समुदायमा कोरोना फैलिनबाट रोक्ने भएपछि पर्सा जिल्ला नै कोरोनामुक्त हुने बताउनुभयो ।
मेयर सरावगीले मेसिन खरिदका लागि उद्योगी व्यवसायीले मात्रै सहयोग नभई अन्य संघ संस्था र व्यक्तिहरुले पनि सहयोग गरेकोले उद्योगी व्यवसायीहरुले मात्रै सहयोग गरेको भन्ने भ्रममा नपर्न आग्रह गर्दै पिसिआर मेसिन खरिदमा भने उद्योगी व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
राजनीतिक स्वार्थ भन्दा मानवीय स्वास्थ्य र नागरिको सुरक्षालाई ध्यानमा राखेर आफूले कोरोना भाईरसको महामारी विरुद्ध लडेको बताउँदै यसमा जनताको साथले सफलता उन्मुख रहेको पनि उहाँले बताउनुभयो ।
उहाँले वीरगंज महानगरपालिकासँग उद्योगी व्यवसायीहरुले मेसिन खरिदका लागि मात्रै खर्च गर्ने सम्झौता गरेको स्पष्ट पार्नुभयो ।
उहाँले अन्य दाताहरुले दिएको सहयोगबाट भिटिएम कीट खरिद, आईसोलेसन लगायतका अन्य व्यवस्थापनमा खर्च गरिने बताउनुभयो ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्याय, प्रदेशसभा सदस्य रमेश पटेल, वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्की, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने, पर्सा अध्यक्ष श्याम बञ्जारा, आर्थिक पत्रकार संघका अध्यक्ष विजय कुशवाहा र मेसिन खरिद गर्न सहयोग गर्ने उद्यापतिहरुको समेत उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।