वीरगंज, असार ८ । स्थानीय तहको निर्वाचनमा वीरगंज महानगरपालिकाको नेतृत्व गर्न चुनावी मैदानमा प्रतिस्पर्धा गरेका फरक राजनीतिक दलका नेताहरु कोरोना महामारी विरुद्ध लड्नलाई भने ध्रुविकृत भएको देखिएका छन् ।
वीरगंज महानगरपालिकाले कोरोना विरुद्धको संघर्षको नेतृत्व लिएर जसरी नागरिकप्रतिको जिम्मेवारी पूरा गर्दैछ अन्ततः त्यहि अभियानमा प्रदेश नम्बर २ का मुख्यमन्त्री समेत समाहित हुने वातावरण बन्यो ।
महानगरपालिकाले खरिद गरेको पिसिआर मेसिन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएर पर्सावासीलाई सहानुभूति प्रकट गर्नुभयो ।
यसअघि महानगर प्रमुख विजय सरावगीले शुरु गरेको कोरोना भाईरस विरुद्धको संघर्षमा साथ दिन आफ्नो निजी अस्पताल हस्तान्तरण गरेर कोरोना विरुद्धको मोर्चामा नेकपा महानगर अध्यक्ष रहबर अन्सारी नगर प्रमुख सरावगीसँगै उभिनु भएको थियो ।
महानगर प्रमुख विजय सरावगीको कोरोना भाईरस विरुद्धको संघर्षमा पर्साका राजनीतिक दलको नेतृत्व, संविधानसभा सदस्य नागेन्द्र चौधरी, विचारी यादव, प्रतिनिधिसभा सांसद पुष्पा कर्ण समेतको सहयोग रह्यो ।
महानगरपालिका प्रमुख सरावगीले लिएको अडान सही र जनहितमा रहेको देखेर नै प्रदेशसभा सदस्यहरु रमेश पटेल, रागिनीदेवी वर्णवाल, डा.अञ्जु यादव, ओमप्रकाश शर्मा, वीरगंजका उद्योगी व्यवसायीहरु र पर्सेली जनताले समेत साथ दिएका छन् ।
यो अभियानमा नागरिक स्तरबाट, नागरिक समाज र विभिन्न संघ संस्थाहरुको समेत महानगर नेतृत्वले साथ पायो । महानगर प्रमुख सरावगीको नागरिकप्रतिको जिम्मवारपूर्ण भूमिकाकै कारणले अहिले महानगरवासीमा मात्रै होईन राजनीतिक स्तरमा नै प्रभाव देखिन थालेको छ ।
पछिल्लो समयमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष तथा स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धामा रहनुभएका लोकप्रिय नेता राजेशमान सिंह र महानगर प्रमुख विजय सरावगीबीच वीरगंजको विकास निर्माणमा देखिएको सहकार्यले राजनीतिक वृत्तमा तरंग ल्याएको छ ।
यो खालको सहकार्यले स्थानीय स्तरमा गुणात्मक विकास र राजनीतिमा शुद्धिकरणलाई स्थापित गर्ने विश्वास राजनीतिक विश्लेषकहरुले गरेका छन् ।
‘वीरगंजको विकासकालागि हामी सबैजना एक हुनुपर्ने, देशको आर्थिक नगरी भनेर चिनिने वीरगंज विकासको कार्यमा पछाडी परेकोले अब वीरगंजको विकास गर्नका लागि नै हामी एक भएका हौं’, नेता सिंहले भने ।
त्यसैगरी मेयर सरावगीले पनि आफूले वीरगंजको विकासकालागि कुनै कसर बाकी नराख्ने जनाएका छन् ।
वीरगंजको विकासकालागि मेयर सरावगी र नेता सिंहबीच सहकार्य भएकोमा वीरगंजवासी उत्साहित भएका छन् ।