राकेश साह
वीरगंज, फागुन १
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले सिमामा हुने गैरकानुनी गतिविधिलाई नियन्त्रण गर्न मुख्य चुनौति रहेको बताउनु भएको छ । प्रजिअ कार्कीले १०७ किलोमिटर खुल्ला सिमाका कारण पर्सामा अवैध गतिविधि बढी हुने गरेकोले त्यसलाई नियन्त्रण गर्न विशेष अभियान चलाइने बताउनुभयो ।
उहाँले पर्सा जिल्लामा अवरुद्ध रहेका विकास निर्माणलाई समयमा सम्पन्न गर्न पहल गर्ने बताउनुभयो । प्रजिअले तदारुकताका साथ काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने बताउनुभयो ।
हुलाकी राजमार्ग, ड्राईपोर्ट लगायत अन्य विकास निमार्णका कामको प्रगतिको अधारमा कारवाही अघि बढाईने बताउनुभयो । नियतवश समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई नछोडिने प्रजिअ कार्कीले बताउनुभयो । कानुन बमोजिमको सेवा तत्काल उपलब्ध गराउन कर्मचारीलाई सक्रिय बनाउने समेत उहाँले बताउनुभयो ।
प्रजिअ कार्कीले बजार अनुगमनको क्रममा दोषी देखिएको व्यक्तिलाई कारवाहीमा कुनै कन्जुस्याई नगरिने बताउनुभयो । कर्मचारी अभावका कारण काम गर्न समस्या भएकाले बिस्तारै सुधार ल्याउने दावी समेत उहाँले गर्नुभयो ।
पर्साका सबै दलँंग सहकार्य गरी जिल्लाको विकासमा आफुले कुनै कसर बाँकी नराख्ने दृढता समेत व्यक्त गर्नभयो । उहाँले जिल्लामा देखिएको समस्या समाधान गर्न सबै एकजुट भएर अघि बढ्न आवश्यक रहको औल्याउनुहुँदै गलत गतिविधिलाई नियन्त्रणमा लिन निरन्तर काम गरिरहने प्रण समेत गर्नुभयो ।
राजस्व चुहावट नियन्त्रण गर्न सुरक्षा निकायका सबै टिम लाग्ने उहाँको कथन छ । नेपाल र भारत बिच रहेको सम्बन्धमा कुनै खलल नपुग्ने गरी अघि बढिने धारणा राख्नुहुँदैे सिमा क्षेत्रमा हुने गलत र गैरकानुनी गतिविधि नियन्त्रण गर्ने दाबी गर्नुभयो ।
अवैध गतिविधिमा संलग्न कोहि पनि नजोगिने प्रजिअ कार्कीको भनाई थियो । गलत गतिविधिमा संलग्न कर्मचारीलाई कारवाही गर्ने बताउँदै सेवाग्राहीलाई अनावश्यक दु:ख दिने काम बन्द हुने बताउनुभयो ।
उहाँले सेवाग्राहीबाट अवैध रकम असुल्नेलाई कुनैपनि हालतमा नछोडिने जनाउँदै त्यस्ता गतिविधिमा नियन्त्रण हुने दावी गर्नुभयो । कार्कीले कानुन विपरित रकम माग्ने बारे सूचना दिन सेवाग्राही सँग आग्रह पनि गर्नुभयो ।
वीरगंजको प्रतिष्ठा छिमेकी मुलुक भारत सँगपनि गाँसिएकोले सुन्दर वीरगंज बनाउन आफुले सधै काम गर्ने बताउनुभयो । जिल्लाको शान बढाउन सबैको सहकार्य आवश्यक रहेकोले सबैसँग सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
उहाँले कानुन भन्दा माथि कोही नभएको बताउनुहुँदै त्यसको पालना गर्न र सुशासनमा आधारित सेवा दिन कुनै कसर बाँकी नराख्ने दृढता समेत व्यक्त गर्नुभयो ।
आजको जन भण्डाफोर दैनिकमा समाचार छ ।