वीरगंज, असार १२ । असार १० गते वीरगंज महानगरपालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष ०७७/०७८ को वार्षिक नीति उपर क्षेत्रगतरुपमा छलफल भई संसोधन तथा परिमार्जन सहित स्वीकृत गरिएको छ ।
त्यसैगरि आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट तथा कार्यक्रम, नगरकार्यपालिकाको सिफारिसमा पेश भएको आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम उपर विस्तृत छलफल भई रु. ३ अर्ब, ८६ करोड ५१ लाख ९० हजार ३ सय ३५ राजश्व र व्ययको अनुमान संशोधन तथा परिमार्जन सहित स्वीकृत गर्ने निर्णय भएको छ ।
वीरगंज महानगरपालिका, नगरकार्यपालिकाको सिफारिसमा पेश भएको वीरगंज महानगरपालिकाको आर्थिक विधेयक २०७७ उपर दफावार छलफल भई संशोधन तथा परिमार्जन सहित स्वीकृत गर्ने, विनियोजन विधेयक २०७७ उपर दफावार छलफल भई संशोधन तथा परिमार्जन सहित स्वीकृत भएको छ ।
कार्यपालिकाको निर्णय अनुमोदन बारे चालु वर्षको मिति २०७६।११।११ देखि २०७७।०३।०९ गते सम्म नगर कार्यपालिकाको बैठकबाट भएका सम्पूर्ण निर्णयहरु अनुमोदन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी चालु आर्थिक वर्षको संशोधित बजेटबारे वीरगंज महानगरपालिका, नगरकार्यपालिकाको सिफारिसमा पेश भएको चालु आर्थिक वर्ष ०७६/०७७ को अधिकार प्रत्यायोजन सम्बन्धमा आर्थिक वर्ष २०७७/०७८ का लागि स्वीकृत योजना तथा कार्यक्रम विशेष कारणले कार्यान्वयन गर्ने अवस्था नभएमा स्वीकृत बजेटको परिधि भित्र रही योजना तथा कार्यक्रम संशोधन गरी कार्यान्वयन गर्न कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको छ ।
नगरसभाले आकस्मिक योजना छनौट, चालु आर्थिक वर्षको योजना भुक्तानी, योजना कार्यान्वयन सम्बन्धमा नगरसभाबाट स्वीकृत राजश्व र व्ययका अनुमानमा समावेश नभएका तर आर्थिक वर्ष २०७७/०७८ मा थप बजेट तथा कार्यक्रम प्राप्त भएमा नगर कार्यपालिकाले स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
खर्च अनुमोदन सम्बन्धमा चालु आर्थिक वर्षको मिति २०७६ श्रावण १ गते देखि मिति २०७७ असार ९ गते सम्म भएका सम्पूर्ण खर्च अनुमोदन गर्ने निर्णय भएको छ ।
फोहोरमैला व्यवस्थापनको सम्झौता पुनरावलोकन, वीरगंज बसपार्क टर्मिनल, संचालन तथा सेवा शुल्क संकलन सम्बन्धि सम्झौता अंक समायोजन गर्ने, नारायणी अस्पतालमा फार्मेसी संचालनका लागि शिड मनि उपलब्ध गराउने, कोभिड–१९ अस्थायी अस्पताल संचालन सम्बन्धि सम्झौता अनुमोदन, कोरोना भाइरस नियन्त्रणसँग सम्बन्धित खर्च अनुमोदन, चालु आर्थिक वर्ष २०७६/०७७ मा संघीय सरकारबाट हस्तान्तरित कार्यक्रमतर्फ विद्यालय भौतिक पूर्वाधार निर्माण शिर्षकमा प्राप्त अनुदान रकम रु. २ करोड ९८ लाख (महानगर शिक्षा समितिको मिति २०७६।०९।०१ गतेको बैठकबाट सिफारिस भए बमोजिम विभिन्न १२ वटा विद्यालयलाई बाँडफाँड गरी सम्पूर्ण रकम विद्यालयलाई निकासा दिने प्रमुख स्तरबाट मिति २०७७।०२।१९ मा भएको निर्णयलाई अनुमोदन गर्ने निर्णय गरिएको छ ।
सरुवा रोग उपचारका लागि वीरगंज महानगरपालिकाको छुट्टै अस्पताल
वीरगंज महानगरपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट पाठ सिकेर सरुवा रोग उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्ने भएको छ । महानगरपालिकाको व्यवस्थापनमा नै अहिले नारायणी अस्थायी कोरोना अस्पताल संचालन गरिएको र भविष्यमा आउन सक्ने संभावित संक्रमणको उपचार गर्ने अस्पताल निर्माण गर्न छुट्याईएको १ करोडको बजेट नगरसभाबाट अनुमोदन गरिएको छ ।