वीरगंज, असार १२ । कोरोना भाइरस संक्रमण परीक्षणका लागि वीरगंज महानगरपालिकाले खरिद गरेको पिसिआर मेसिन संचालनमा आएको छ ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीको आह्वानमा वीरगंजका उद्योगी व्यवसायी, विभिन्न संघ संस्था तथा व्यक्तिहरुको आर्थिक सहयोगमा खरिद गरिएको पिसिआर मेसिन असार ६ गते वीरगंज आईपुगेको थियो ।
उक्त मेसिन असार ७ गते मुख्यमन्त्री लालबाबु राउतको हातबाट वीरगंज महानगरपालिकाको तर्फबाट नारायणी अस्पताललाई हस्तान्तरण गरिएको थियो ।
नारायणी अस्पताललाई हस्तान्तरण गरिएपछि अस्पतालको प्रयोगशालामा जडान गरि परीक्षण पनि शुरु भएको छ ।
असार ११ गते बिहीबारदेखि महानगरले खरिद गरेको पिसिआरको परिक्षण शुरु भएको अस्पतालकी प्रयोगशाला प्रमुख डाक्टर नीरा पाठकले जानकारी दिनुभयो ।
महानगरपालिकाको मेसिनबाट परीक्षण गरिएको मध्ये ३ जनामा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।
नारायणी अस्पतालको पिसिआर मेसिन र महानगरले खरिद गरेको पिसिआर मेसिनमा समान नतिजा आएको पनि उहाँले बताउनुभयो ।
अहिले अस्पतालमा रिएजेण्ट किटको अभावले गर्दा परीक्षणमा समस्या भएको उहाँले बताउनुभयो ।
नेपाली सेना मार्फत खरिद गरी सरकारले पठाएको रिएजेण्ट किट सानो भएकोले यहाँको मेसिनमा परीक्षण गर्न नमिलेपछि अहिले अर्को रिएजेण्ट किट माग गरिएको डाक्टर पाठकको भनाई छ ।
महानगरपालिकाले दुईहजार पिस रिएजेण्ट किट मगाएको र उक्त किट सोमबारसम्ममा आईपुग्ने वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी दिनुभयो ।