वीरगंज, असार १६ । लायन्स क्लब अफ वीरगंज मिलेनियम एमजेएफले आज कोरोना भाइरस टेष्ट गर्न आवश्यक पर्ने ४ हजार ५ सय थान भिटिएम किट वीरगंज महानगरपालिकाई सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।
वीरगंजको होटल लर्डस दियालो प्लाजामा आयोजित हस्तान्तरण कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले वीरगंजलाई कोरोना मुक्त बनाउनको लागि महानगरपालिकाले कुनै कसर बाँकी नराखि योजनाबद्ध रुपमा अघि बढेको धारणा राख्नु भएको थियो ।
उहाँले मानवीय काममा पनि राजनीति हुने परिपाटी विद्यमान रहेको भएपनि त्यसलाई समेत पर्वाह नगरि वीरगंजवासीहरुले कोरोना नियन्त्रण अभियानमा पर्याप्त सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले वीरगंजमा ५० हजार मानिसहरुको कोरोना परीक्षण गरि पर्सा जिल्लालाई कोरोनामुक्त जिल्ला बनाएरै छाड्ने दृढता समेत व्यक्त गर्नुभयो ।
मेयर सरावगीले वीरगंका प्रत्येक घरपरिवारबाट परीक्षण गराउने सदस्यहरुलाई नारायणी अस्पतालले उपलब्ध गराउने रिपोर्टसँगै वीरगंजबाट बाहिर यात्रा गर्न सहजताको लागि घर परिवारका सम्पुर्ण सदस्यहरुको नाम उल्लेख गरि महानगरले छुट्टै कोरोना परीक्षण प्रमाण पत्र समेत उपलब्ध गराउने बताउनु भयो ।
कार्यक्रममा संविधान सभाका सदस्य अनिल रूंगटाले पुरै विश्व कोरोनासँग लडिरहेको हुनाले महानगरले यसको नियन्त्रणको लागि गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा लायन्स क्लबका पुर्व अन्तर्राष्ट्रिय डाइरेक्टर लायन संजय खेतानले लायन्स क्लबले सामाजिक क्षेत्रमा सहयोगका लागि कुनै कमी हुन नदिने गरि काम गरेको धारणा राख्नुभयो ।
त्यसैगरि लायन्स क्लबका पिएमसिसि लायन रमेश अग्रवालले आफुहरुले महानगरलाई थप आवश्यक भिटिएम र अन्य आवश्यक सामग्री उपलब्ध गराउन तयार रहेको धारणा राख्नुहुँदै भुकम्पको बेलामा लायन्स ईन्टरनेशनल फण्ड मार्फत नेपालमा एक अर्ब सहयोग ल्याइएको भएपनि सरकारी नीतिका कारण ५० करोड फिर्ता गर्नु परेको पीडा समेत पोख्नु भयो ।
कार्यक्रममा लायन्स क्लबका पुर्व डिष्ट्रीक्ट गभर्नर लायन डाक्टर आर.पी. खेतान, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्याय, लायन्स क्लबका सिनियर डिष्ट्रीक्ट एडभाइजर रामबिहारी पाण्डे, दाताहरुको तर्फबाट युवा उद्यमी बिशाल पटवारी लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा मेयर विजय सरावगीले महानगरपालिकालाई लायन्स क्लबले उपलब्ध गराएको ४५०० थान भिटिएम किट मेसु डा. मदन उपाध्यायलाई हस्तान्तरण गर्नुभएको थियो ।
लायन्स क्लबले निरन्तर रुपमा अन्य क्षेत्रमा पनि सहयोगका योजनाहरु बनाइरहेको कुरा लायन्स क्लबका सिनियर डिष्ट्रीक्ट एडभाइजर लायन देवकी नन्दन अग्रवाल बताउँछन ।
कार्यक्रममा भिटिएम किटका दाताहरु केतन गुप्ता, निर्मल गुप्ता लायन्स क्लबकी डिष्ट्रीक्ट कोर्डिनेटर लायन गुड्डी जोशी, क्लबका पदाधिकारी तथा सदस्यहरु, बैंकर्स, संचारकर्मी, मेयर सरावगीका राजनीतिक सल्लाहकार मुकेश द्विवेदी, सज्जन अग्रवाल, वीरगंज महानगरका प्रवक्ता सन्तोष तिवारी, सिपु तिवारी, पिन्टु रौनियार लगायत उद्योगी व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
लायन्स क्लब अफ वीरगंज मिलेनियमका अध्यक्ष लायन सज्जन अग्रवालको सभापतित्वमा भएको हस्तान्तरण कार्यक्रमको सहजिकरण लायन्स क्लबका सिनियर डिष्ट्रीक्ट एडभाइजर लायन देवकी नन्दन अग्रवालले गर्नु भएको थियो ।