वीरगंज १७ असार । व्यवस्थित वीरगंज अभियानले आज वीरगंज घण्टाघर चोक देखी माइस्थान जाने बाटोमा डिभाइडर लगाउने काम गरेको छ ।
अस्तव्यस्त रहेको वीरगंजक बजारको ट्राफिक व्यवस्थापनका दुइ तर्फी बाटोमा अभियानको पहिलो चरण अन्तर्गत घण्टाघरमा डिभाइडर लगाउने कामको सुरुवात गरीएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताउनु भयो ।
वीरगंज महानगरपालिकाको सहयोगमा उपलब्ध भएको ४० पिस प्लाष्टिकको डिभाइडरमा वीरगंज महानगरका मेयर विजय सरावगीले उद्घाटन गर्नुभएको थियो ।
वीरगंज महानगरलाई सुन्दर र व्यवस्थित बनाउने दायित्व महानगरपालिका र प्रहरी प्रशासनको मात्र नभइ सम्पूर्ण नगरवासीको भएकोले सबै मिलेर अभियानलाई सफल बनाउनु पर्ने कुरामा मेयर सरावगीले जोड दिनुभयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक गंगा पन्तले वीरगंजको मेनरोडमा सवारी चाप बढी हुने र सडक समेत साँगुरो भएको हुँदा ट्राफिक व्यवस्थापनमा कठिनाई भएको बताउँदै आम नागरिकको सुरक्षाको लागि डिभाईडर राखिएको बताउनु भयो ।
उहाँले आगामी दिनमा नगर क्षेत्रका सवारी चाप बढी हुने चोकहरुमा समेत डिभाईडर लगाउने जानकारी दिनुभयो । यसैगरी अभियान अन्तर्गत आज बिहान बजारको अनुगमन समेत गरिएको छ ।
कोरोनाको संक्रमण बढी रहेको बेला सामाजिक दुरी कायम नगरी अव्यवस्थित रुपमा पसल संचालन गरेको तथा जथाभावि फोहोर फाल्ने पसलहरुको समेत अनुगमन गरीएको छ ।
अभियान अन्तर्गत नगर क्षेत्रको फोहोर व्यवस्थापन, सडक अतिक्रमण गरेर राखिएको गिटी बालुवा नियन्त्रणका साथै छाडा चौपाया नियन्त्रण, व्यवस्थित रुपमा सवारी पार्किङ्गका लागि आवश्यक पहल, अव्यवस्थित पार्किङ्ग हटाउने कार्यलाई अगाडी बढाईएको छ ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख कमलराज पण्डित, ग्रीन सिटि सामुदायीक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, भोलेन्टियर टिम वीरगंजका संयोजक राजन श्रीवास्तव, पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछाने, पर्सा अध्यक्ष श्याम बन्जारा लगायत वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतको सहभागिता रहेको थियो ।