वीरगंज, असार १७ । एभरेष्ट बैंक लिमिटेड र कर्पोरेट डेभेलपमेण्ट बैंकले वीरगंज महानगरपालिकाको कोरोना विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ ।
कोरोना भाइरस परीक्षणका लागि पिसिआर मेसिन खरिद, भिटीएम, रीएजेण्ट किट तथा अस्पताल व्यवस्थापनका लागि वीरगंज महानगरपालिकाले सहयोगको अपिल गरे अनुसार वीरगंजमा सेवा दिईरहेका एभरेष्ट बैंक लिमिटेड र कर्पोरेट डेभेलपमेण्ट बैंकले आर्थिक सहयोग वापतको रकम हस्तान्तरण गरेका हुन् ।
बैंकका प्रतिनिधिहरुले महानगरपालिकाका मेयर विजय सरावगीलाई कार्यकक्षमै भेटेर एभरेष्ट बैंकको तर्फबाट १ लाख पाँच हजार र कर्पोरेट डेभलपमेण्ट बैंकको तर्फबाट २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
यसअघि महानगरपालिकाको कोरोना कोषमा विभिन्न संघ संस्था र व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । वीरगंजका उद्योगी व्यवसायीहरुले मेसिन नै खरिद गरेर दिएका छन् ।
स्थानीय तहबाट आफैले पिसिआर मेसिन खरिद गरेर कोरोना परीक्षण गरेको नेपालकै पहिलो एक मात्र महानगरपालिका वीरगंज हो । अहिले महानगरपालिकाले ५० बेडको कोरोना अस्थायी विशेष अस्पताल संचालन गरिरहेको छ । भने, २०० बेडको छुट्टै आईसोलेसन समेत तयारी गरेर राखेको छ ।
पिसिआर मेसिन जडान भई परीक्षण पनि शुरु भएको र पर्सामा एक घर एक पिसिआर टेष्टको अभियान शुरु गरेर ५० हजार भन्दा बढीको पिसिआर परिक्षण गरिने पनि महानगरपालिकाका मेयर सरावगीले बताए ।
अहिलेसम्म महानगरपालिकाको कोरोना कोषमा बुधबार सम्ममा २ करोड १५ लाख ७३ हजार रुपैंयाँ जम्मा भईसकेको महानगरपालिकाका अधिकृत विकास मिश्रले जानकारी दिए ।