वीरगंज, असार १८ । वीरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखा मार्फत कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामको काममा संलग्न स्वास्थ्यकर्मीहरुकालागि नीजि क्षेत्रले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ ।
शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि., जगदम्बा कँक्रिटो प्रा.लि., जगदम्बा एस.एस. पाईप्स प्रा.लि., सर्वोत्तम स्टील्स प्रा.लि. र स्काईलाइन मलले कोरोना भाइरस संक्रमण परीक्षणका लागि वीरगंज महानगरपालिकालाई २ सय ५० पिस व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई किट) हस्तान्तरण गरेको हो ।
आज वीरगंज महानगरपालिकामा आयोजना गरिएको एक कार्यक्रमकाबिच वीरगंजको नारायणी अस्पताल र गण्डक अस्पताललाई तथा थ्रोट स्वाब संकलनमा खटिने, क्वारेन्टिनमा स्वास्थ्य सेवा दिने स्वास्थ्य कर्मचारीहरुले उपयोग गर्ने गरि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई २ सय ५० पिस पीपीई किट हस्तान्तरण गरिएको शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि.का कार्यकारी निर्देशक राजेश अग्रवालले जानकारी दिनु भयो ।
मेयर सरावगीले निजी क्षेत्रबाट उपलब्ध गराइएको सहयोगले आफूलाई थप उत्साहित बनाएको बताउनु भयो ।
‘एउटा समय थियो कोरोना विरुद्धको संघर्षमा एक्लै पर्छु की जस्तो पनि लागेको थियो’, उहाँले विगतलाई स्मरण गर्दै भने तर वीरगंजको औधोगिक क्षेत्र, संघ संस्था, विभिन्न पेशा व्यवसायमा संलग्न महानुभावहरुले जसरी सहयोग गर्नु भयो त्यसले एउटा सफल उदाहरण कायम भएको बताउनु भयो ।
वीरगंजको समाज संकटको बेलामा संकटको सामना गर्न एकढिक्का भएर अगाडि आउने परम्परा अहिले झनै मजबुतीका साथ प्रकट भएको उहाँले बताउनु भयो ।
कोरोना संकट सँगसगै जीवन चल्नु पर्ने अवस्थामा कोरोना भाइरसको परिक्षणलाई बढाउनुपर्ने आवश्यकता रहेको छ ।
यही प्रयोजनकालागि सहयोग गर्न महानगर प्रमुख सरावगीले साझा अपिल गर्नु भएको थियो । पर्सा जिल्लालाई ग्रिन जोनमा लगेर आर्थिक गतिविधिलाई चलायमान बनाउनकालागि नै पाँच उद्योगले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएका हुन ।
उक्त कर्यक्रममा शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि., जगदम्बा कँक्रिटो प्रा.लि., जगदम्बा एस.एस. पाईप्स प्रा.लि., सर्वोत्तम स्टील्स प्रा.लि. र स्काईलाइन मलका संतोष सिंह, अमित अग्रवाल, सुनील खेतान, अभिषेक अग्रवाल र विवेक सिंह लगायतको सहभागिता रहेको थियो ।