वीरगंज, असार १८ । वीरगंजको घडिअर्वा स्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र संचालनमा आएको छ ।
आयुर्वेद अस्पतालको बिहिबार एक कार्यक्रमको बिच वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले उदघाट्न गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर सरावगीले रिबन काटेर अस्पतालको उदघाट्न गरेका थिए ।
उदघाट्न कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सरावगीले वीरगंजमा आयुर्वेद अस्पताल संचालन भएकोले अब आयुर्वेदिक उपचारको लागि बाहिर जानु पर्ने बाध्यता अन्त्य हुने बताए ।
अस्पतालका प्रबन्ध निर्देशक ई. शशिभूषण प्रसादको अध्यक्षतामा भएको उदघाट्न कार्यक्रममा जिल्ला आयुर्वेद कार्यालय पर्साका प्रमुख डा. रमेश मिश्रा, वीरगंज उद्योग वाणिज्य संघका महासचिव माधवलाल राजपाल लगायतको सहभागिता रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य अस्पतालका प्रमुख चिकित्सक डा. प्रभाकर मणुले राखेका थिए ।
वीरगंज महानगरपालिकाको वडा नं. १० घडिअर्वा स्थित संचालनमा आएको आयुर्वेद अस्पतालमा दक्षिण भारतमा गरिने उच्च स्तरको पंचकर्म चिकित्सा तथा अन्य कठिन रोगको उपचार गरिने बताइएको छ ।
मधुमेह, थायराईड, उच्च रक्तचाप, मानसिक समस्याहरु, किडनीको पत्थरी, पित्त थैलीको पत्थरी, पाइल्स, फिस्टूला, पिसाब प्रणालीका समस्याहरु, बाँझोपन, यौन सम्बन्धि समस्याहरु, बालबालिका सम्बन्धि समस्याहरु, कम्पवात, माइग्रेन, अनिन्द्रा सम्बन्धि समस्याहरु, ढाड दुखाइको समस्या, बातरोेग गठिया, आमवात, स्वेत प्रदर, रक्त प्रदर, पक्षघात, गैस्ट्रिक तथा कब्जियत, कठिन नशा सम्बन्धि समस्या, स्त्री तथा प्रसुती समस्याहरु लगायतका रोगहरुको उपचार गरिने अस्पतालका प्रमुख चिकित्सक प्रभाकर मणुले जानकारी गराएका छन् ।