वीरगंज, असार २३ । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले पछिल्लो पटक अनलाइन संचारमाध्यमको प्रभाव बढेको बताउनु भएको छ ।
वीरगंजबाट संचालित अनलाइन संचारमाध्यमका संचालकहरुसँगको छलफलमा मेयर सरावगीले यस्तो बताउनु भएको हो । उहाँले अनलाइन संचार माध्यमले पाठकको विश्वास हासिल गर्न अझै विषयवस्तुको छनौट र प्रस्तुतीमा सन्तुलन कायम गर्न सक्नु पर्ने सुझाव दिनु भयो ।
वीरगंज महानगरको विकास निर्माण, समाजिक अभियान, स्वास्थ्य, शिक्षा र नगरवासीको समग्र हितको पक्षमा समाचार प्रकाशन/प्रसारण गर्ने स्थानिय अनलाइन संचार माध्यमहरुसँग साझेदारी गर्न इच्छुक रहेको बताउँदै मेयर सरावगीले अनलाईन संचारमाध्यममा क्रियाशिल पत्रकारहरुको क्षमता अभिबृद्धिमा महानगरले सहयोग गर्ने इच्छा जाहेर गर्नु भयो ।
उहाँले महानगरको सन्दर्भमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो लेखेर सहकार्यकालागि आग्रह गर्नु भयो । उहाँले नराम्रोलाई नराम्रो लेख्दा पनि उद्देश्य सुधारात्मक परिर्वतन हुने खालका समाचार सामग्री राख्न संचारकर्मीलाई आग्रह गर्नु भयो ।
बिगारेर, भत्काएर मात्रै बन्छ भन्ने कुरा होइन गल्ती सुधार गर्न र थप गल्ती नगर्न उत्प्रेरित गर्न संचारमाध्यमले भूमिका खेल्नुपर्ने उहाँले बताउनु भयो ।
मेयर सरावगीले सबै संचार माध्यमको आफनो स्थान र भूमिका छ नै तर अनलाइन संचार माध्यमको प्रभाव भने बढदो रहेकोे बताउनु भयो ।
म पनि केही अनलाइन हरु हेर्छु मैले पनि केही अनलाइन सब्सक्राईब गरेको छु उहाँले भन्नु भयो ‘सबै म पनि हेर्दिन तर मलाई विश्वास लागेका र सहि सूचना पाउँछु भन्ने लागेका अनलाइनका समाचार चाहीँ हेर्छु ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले संचार माध्यमले आलोचना गरे वापत महानगरले सहयोग गर्नु पर्ने धाराणा व्यक्त गर्नु भयो । उहाँले संचारमाध्यमलाई अनुदान दिने होइन काम गरेर त्यसको मूल्य पाउने वातावरण बनाउनु पर्नेमा जोड दिनु भयो ।
नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लमिछानेले अनलाइन संचार माध्यम र वीरगंज महानगरकाबीचमा कन्टेन्टका आधारमा सहकार्य हुनु पर्नेमा जोड दिनु भयो ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले स्थानिय अनलाइन संचार माध्यमलाई वीरगंज महानगरपालिकाले लोक कल्याणकारी विज्ञापन प्रसारण गरे वापत केही रकम उपलब्ध गराउन महानगरलाई समस्या नहुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै मेयर सरावगीका प्रेस सल्लाहकार गोविन्द देवकोटाले अनलाइन संचार माध्यम र महानगरबीच सहकार्यका आधारहरु के के हुन सक्छन भन्ने विषयमा छलफल आयोजना गरिएको बताउनु भयो ।
उहाँले महानगर आफैमा स्थानीय सरकार भएकोले एउटा लिपिवद्ध कार्यविधिका आधारमा अनलाइन संचारमाध्यमसँग सहकार्य गर्ने महानगरको चाहना रहेको बताउनु भयो । त्यसको मापदण्ड बनाउनकालागि पत्रकार साथीहरुले दिनु भएको सुझाव महत्वपूर्ण हुने उहाँको भनाई थियो ।
सल्लाहकार देवकोटाले कार्यविधि बनाएर फेरि पनि छलफल गरिने र त्यसपछि कार्यान्वयमा जाने बताउनु भयो ।
छलफल कार्यक्रममा वीरगंजबाट संचालनमा आएका अनलाइन पत्रिकाका संचालकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा अनलाइनक संचार माध्यमका विविध समस्याहरुका बारेमा पत्रकार विजय कुशवाहा, अशोक संग्रौला, नवराज फूयाँल, आशु सर्राफ, शम्भु सुमन, लगायतले आ–आफ्ना धारणा राखेका थिए ।