वीरगंज, असार २४ । सत्तासिन नेकपमा सृजना भएको विवादमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन पाईन्न भन्दै वीरगंजमा विशाल मोटरसाइकल र्याली निकालिएको छ । स्वन्तन्त्र युवा समाजको ब्यानरमा निस्केको र्यालीको नेतृत्व तथा सहभागीमा भने राष्ट्रिय युवा संघ नेपाल पर्साका अध्यक्ष महमद निजामुद्दिन, केन्द्रीय सदस्य विकास रौनियार, सगीर अहमद, अखलेस साह, हनिफ अन्सारी, रवि गुप्ता, उत्तम तिवारी लगायतका नेताहरु नै जुलुसको अग्र भागमा देखिन्थे ।
वीरगंजको घन्टाघरबाट निस्केको मोटरसाइकल र्यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
र्यालीमा सहभागी युवाहरुले नेपालको पूर्ण आकारको नक्सा अंकित ब्यानर सहित नेपालको झण्डा बोकेका थिए । उनीहरुले बोकेको ओलीको फोटो सहितको ब्यानरमा ‘देशको मुहार फेर्नु छ साथी, पार्टी भन्दा राष्ट्र माथि’ लेखिएको थियो । मोटरसाइकल र्यालीमा सहभागी युवाहरुले ‘सरकार ढाल्न पाइँदैन’ आज र भोलि केपी ओली, ‘पार्टी एकता जिन्दावाद’ विदेशी हस्तक्षेप चाहिँदैन कसैको उक्साहटमा चलखेल बन्द गर जस्ता नारा लगाएका थिए ।
कार्यक्रमपछि घन्टाघरमा आयोजित सभामा र्यालीको नेतृत्व गर्ने व्यक्तिहरुले मन्तब्य राखेका थिए ।
सभामा बोल्ने वक्ताहरुले राष्ट्रियताको युग शुरु भएको बेला प्रधानमन्त्री केपी ओलीलाई हटाउन खोज्नु कुनै पनि अर्थमा न्यायोचित नहुने हुनाले माओवादी र नेकपा एमाले बीचको पार्टी एकतालाई कायम राख्न महाधिवेशन सम्म कुनै पनि अर्थमा प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीलाई हटाएर राजनीतिक अस्थिरता शुरु गर्न नहुने धारणा राखेका थिए ।
वक्ताहरुले आगामी महाधिवेशनबाट मात्र नेतृत्वको छिनोफानो हुने भएकोले बहुमत अल्पमतको राजनीति पार्टी एकताको भावना विपरित हुने समेत बताएको थिए ।
उनीहरुले नेपालमा निकै युगपछि आएको कम्युनिष्ट नेतृत्वको अपार जनमतलाई जोगाएर राख्न सबै नेता कार्यकर्ताहरुले खबरदारी गर्नुपर्ने बेला आएको धारणा समेत राखेका थिए ।
नेपालका्े राष्ट्रिय झण्डा सहित निस्के्का्े मोटरसाइकल र्यालीमा नेकपाका युवा नेता तथा पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का अगूवा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा पुर्व नेकपा एमालेका जनाधार युक्त नेताहरुको निर्देशनमा मोटरसाइकल र्याली निस्केको अनुमान लगाउन थालिएको छ भने कार्यक्रममा पार्टीको जिल्ला स्तरिय मूल नेतृत्वको समेत समर्थन रहेको बताइन्छ ।
र्याली स्वतन्त्र युवा समाजको अगुवाइमा सम्पन्न भएको हो । नेकपाका पर्सा अध्यक्ष प्रभु हजारा र संविधान सभा सदस्य राजकुमार गुप्ता लगायतका केही नेकपाका नेताहरु भने उनीहरुले गर्ने र्यालीमा भन्दा बढी मानिसको सहभागिता देखेर छक्क परेका थिए । उनीहरुले माइस्थान चोकबाट र्यालीको अवलोकन गरेका थिए ।