वीरगंज, असार २८ । नारायणी अस्पतालमा पिसिआर परिक्षण गर्नकालागि प्रकाशित सूचनाको बारेमा वीरगंज महानगरपालिकाले आफनो ध्यानाकर्षण भएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २४ गते नारायणी अस्पतालसहित सबै प्रदेशमा एक एक अस्पताल गरि अन्य ६ वटा अस्पताललाई सःशुल्क पिसिआर परीक्षण सेवा दिन निर्देशन दिएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले एक विज्ञप्ति जारी गरि प्रोटोकल भन्दा बाहिरका व्यक्तिहरुले आरटी पिसिआर परीक्षण गराउँदा ५ हजार ५ सय रुपैयाँ लाग्ने उल्लेख गर्नु भएको थियो ।
स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा.समीरकुमार अधिकारीले निर्देशिका बाहेकका नमुना परीक्षणका लागि सम्पूर्ण परीक्षणको पच्चीस प्रतिशतमा नबढ्ने गरी शुल्क लिइने जानकारी दिनु भयो ।
संघीय सरकारले नै प्रोटोकल भन्दा बाहिरका व्यक्तिहरुले चाहेमा शुल्क लिएर परिक्षणको व्यवस्था मिलाएको विषयलाई लिएर वीरगंजमा सामाजिक संजाल मार्फत वीरगंज महानगरपालिका र महानगरप्रमुखका बारेमा नकारात्मक टिप्पणी भएपछि महानगर प्रमुखको सचिवालयले यस बिषयमा आफनो दृष्टिकोण सार्वजनिक गरेको छ ।
सचिवालयका तर्फबाट महानगर प्रमुख विजय सरावगीका राजनीतिक सल्लाहकार मुकेश द्विवेदीले सामाजिक संजाल मार्फत सशुल्क कोरोना भाइरसको परिक्षणको सूचनासँग वीरगंज महानगरपालिकाको कुनै सरोकार नरहेको प्रष्ट पार्नु भएको छ ।
केन्द्र सरकारको मातहतमा रहेको नारायणी अस्पतालले केन्द्र सरकारको स्वास्थ्य मंत्रालयको निर्देशन अनुरुप सशुल्क परिक्षणको सूचना गरेको र त्यो केन्द्रीय सरकारको नीति रहेको स्पष्ट पार्नु भएको छ ।
उहाँले वीरगंज महानगरपालिकाले महानगर प्रमुख सरावगीको प्रतिबद्धता अनुरुप कोरोना भाइरसको संक्रमणको परिक्षण निःशुल्क गर्ने कुरा पून दोहोर्याउनु भएको छ ।
निःशुल्क परिक्षणकालागि आवश्यक तयारी भएको राजनीतिक सल्लाहकार द्विवेदीले बताउनु भएको छ । सम्पुर्ण वडाहरुमा स्वाब संकलन केन्द्र तोकिएको छ । अन्य आवश्यक व्यवस्थाहरु पनि मिलाइएकोले आउने साताबाट परीक्षण शुरु हुने उहाँले बताउनु भएको छ ।
उहाँले महानगरवासीलाई आश्वस्त पार्दै एक घर एक सदस्यको कोरोना भाइरसको संक्रमण परिक्षण निःशुल्क हुन्छ त्यस विषयमा कुनै शंका नलिन समेत आग्रह गर्नु भएको छ । उहाँले नागरिकको रक्षाको लागि महानगर प्रमुख सरावगीले गर्नु भएको प्रतिबद्धता प्रति उहाँ अटल हुनुहुन्छ त्यस कारण यस विषयमा कसैलाई पनि भ्रममा नपर्न उहाँले आग्रह गर्नु भएको छ ।
शुल्क सहितको पिसिआर परीक्षणको विषयलाई लिएर महानगर प्रमुखको नाममा सामाजिक संजालमा जे जस्ता उडन्ते र हावादारी नकारात्मक टिप्पणी गरिएका छन महानगर प्रमुखको सचिवालयले सार्वजनिक गरेको यो दृष्टिकोणले त्यस्ता टिप्पणी र टिप्पणकर्तालाई राम्रै जवाफ मिलेको छ ।