वीरगंज, असार २९ । पर्साको बिन्दवासिनी गाउँपालिकाको गाउँ सभा आज सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु (मोदी ) को अध्यक्षतामा सम्पन्न गाउँ सभामा आर्थिक वर्ष ०७७/०७८ को लागि चालु तर्फ १३ करोड, ९९ लाख र पूँजीगत तर्फ १६ करोड, ५६ लाखको बजेट पारित भएको छ ।
परिषदले विभिन्न विषयमा योजना तय गर्नुको साथै शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, विकास निर्माणमा समेत बजेट बिनियोजन गरेको छ ।
परिषदमा शिक्षामा १ करोड , स्वास्थ्यमा ८० लाख , कृषिमा ६० लाख, पशुमा ४० लाख लगायतका शिर्षकमा बजेट छुट्टयाइएको छ ।
बजेटले शिक्षा, स्वास्थ्य, कृषि, सडक, नाला लगायत पालिकाको समग्र विकासमा ध्यान दिने जनाइएको छ ।
परिषदपछि कुरा गर्दै अध्यक्ष (मोदी ) ले अब सबैले गर्व गर्ने खालको परिवर्तनको खाका कोरेर जनताको बीचमा जान मार्ग पहिल्याएको बताउनु भयो ।
उहाँले समस्या र चुनौति अनगिन्ती भएपनि सर्वसम्मतिले गाउँ सभा सम्पन्न भएपछि साझा सवालमा एक भएर जाने परम्परा शुरु भएको बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्याक्ष किरण देवी गुप्ताले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विकास निर्माण र सामाजिक सुधार एवं महिला बालबालिका तथा उपेक्षित जाती भाषा एवं संस्कृतिको विकासमा समेत ध्यान दिन आवश्यक रहेको धारणा राख्नु भयो ।
कार्यक्रमको संचालन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियारले गर्नुभएको थियो । कार्यपालिका सदस्य र ५ वटै वडा अध्यक्षहरुको उपस्थितिमा गत २१ गते आईतवार देखि शुरु भएको सभा आज सोमवार सम्पन्न भएको प्रेस संयोजक संजिव मिश्राले जानकारी दिनुभयो ।