वीरगंज, श्रावण ८ । वीरगंज महानगरपालिका प्रमुख विजय सरावगीले वीरगंजमा निषेधाज्ञा लगाउन माँग गर्नु भएको छ ।
कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएपछि महानगर प्रमुख सरावगीले निषेधाज्ञा लगाउन माँग गर्नु भएको हो । कोरोना भाइरसको संक्रमणका कारण वीरगंज महानगरपालिका वडा नं ६ मिना बजारका एक ७० वर्षिय वृद्धको मृत्यु भएपछि वीरगंजको अवस्था निकै अन्यौलपूर्ण भएको बेलामा महानगर प्रमुखले निषेधाज्ञाको माँग गर्नु भएको हो ।
उहाँले स्थानीय प्रशासनको लापरवाहीका कारण वीरगंजमा संक्रमण समुदाय स्तरमा फैलिएको आरोप लगाउनु भयो । वीरगंज पथलैया औधोगिक करीडोरमा रहेका उद्योग प्रतिष्ठानहरुमा अधिकांश मजदुरहरु भारतीय रहेका छन् । लकडाउनको समयमा पनि उनीहरु वीरगंज प्रवेश गरेका छन र यो क्षेत्रका उद्योगहरु संचालनमा छन ।
सीमा क्षेत्रबाट अनाधिकृत कारोबारमा संलग्न व्यक्तिहरुको वीरगंज र सीमापार आवत जावत भइरहेको छ । सयौंको संख्यामा रहेका व्यक्तिहरु दैनिक तस्करीका सामान बोकेर वीरगंज प्रवेश गर्छन ।
वीरगंजमा रक्सौलका कतिपय व्यापारीको पसलहरु छन ति व्यापारीहरु दैनिक रुपमा पसल खोल्न आउँछन र राती नै फर्किन्छन् ।
यसरी सीमापारका मान्छेहरु प्रहरीलाई केही रुपैयाँ दिएकै भरमा नेपाल प्रवेश गर्न पाइरहेको विभिन्न स्रोतको दावी छ ।
वीरगंज महानगरका प्रमुख सरावगीको बुझाई पनि यस्तै कारणले कोरोनाको संक्रमण वीरगंजमा समुदाय स्तरमा फैलेको हो भन्ने छ ।
वीरगंजमा चिकित्सकमा समेत संक्रमण फेला परेको छ । कोरोना भाइरसको परिक्षण गर्ने ल्याबमा गएकी महिलामा कोरोना भाइरसको संक्रमण भएको दावी उहाँका आफन्तजनको छ । परिक्षण गर्ने प्रयोगशाला संक्रमीत भएको दावीले कैयौं प्रश्नहरु समेत उब्जाएको छ ।
महानगर प्रमुख सरावगीले परिक्षणको गति बढाएर संक्रमितहरुलाई आइसोलेट गर्ने कुरामा ढिलाई गर्न नहुने बताउनु भयो ।
२० हजार नागरिकको कोरोना भाइरसको परिक्षण गर्न सक्ने गरि हामी तयारी अवस्थामा छौ उहाँले भन्नु भयो । उहाँले कोभिड अस्पतालको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको भएपनि प्रदेश सरकारले कुनै पहल नगर्दा गण्डकलाई महानगरको प्रयासमा कोभिड अस्पताल बनाएर चलाएको स्मरण गर्दै अब सम्झौता सकिन लागेको छ कोभिड अस्पताल कसरी संचालन गर्ने भन्ने कुरामा प्रदेश सरकारको ध्यानाकर्षण होस भन्ने कुरामा जोड दिनु भयो ।
वीरगंज महानगरले ५० हजार घरका एक एक जनाको कोरोना परीक्षण गर्ने तैयारी गरेको छ । यसका लागि ३५ जना स्वास्थ्यकर्मीहरुलाई तालीम दिएर स्वाब संकलन केन्द्र समेत तोकि सकिएको महानगरले जनाएको छ ।
महानगरको योजना अन्योलमा परेपछि स्थानिय समिति मार्फत स्वीकृतिका लागि केन्द्रीय संयन्त्रलाई पत्र पठाइएको प्रमुख सरावगीले बताउनु भयो ।
महानगरले स्वास्थ्य तथा जनसंख्या मन्त्राललाई पनि समन्वय र सहयोगका लागि पत्राचार गरेको छ । तर यस विषयमा माथिल्लो निकायले कुनै निर्देशन अहिले सम्म नदिएको प्रमुख सरावगीले बताउनु भयो ।
महानगरले द्रुत परिक्षणकालागि पिसिआर मेसिन खरिद गरेर नारायणी अस्पतालमा जडान गरेको छ । २५ हजार भीटीएम किट, २ हजार आरटी पीसीआर कोभिड टेस्ट किट र २ हजार आरएनए एक्सट्रयाक्सन किट खरीद गरिसकेको छ ।
२० हजार नागरिकको कोरोना भाइरसरको संक्रमण परिक्षण गर्न सक्ने तयारी अवस्थामा वीरगंज महानगरपालिका भएपनि हालसम्म परिक्षणको इजाजत नदिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।