वीरगंज, श्रावण ६ । नेपाली कांग्रेस पर्साले प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोइरालाको योगदानको स्मरण गर्दै आज ३८ औं स्मृति दिवस मनाएको छ ।
वीरगंजको मुर्लि स्थित पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाइएको हो ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । विक्रम सम्वत् १९७१ भदौ २४ गते जन्मिनु भएका कोइराला २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा गठित दुई तिहाई बहुमत प्राप्त पहिलो निर्वाचित सरकारको प्रधानमन्त्री हुनुहुन्थ्यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले वि.पि.को समाजवाद अझै पनि सान्दर्भिक रहेको बताउँदै वि.पि.ले विश्व र नेपालको परिवेशमा समाजवादलाई छुट्टै किसिमले व्याख्या गरेको चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्की, जिल्ला सचिव श्याम पटेल, किशोरी कानु, महासमिति सदस्य प्रकाश उपाध्याय, जिल्ला सदस्य दिना गुप्ता, रोशन लामिछाने, विरेन्द्र यादव, रिजवानुल हक, ट्रेड युनियन कांग्रेस प्रदेश नम्बर २ का अध्यक्ष लक्ष्मण प्रसाद कुर्मी, वि.पि. चिन्तन प्रतिष्ठान पर्साका अध्यक्ष फजिल मियाँ, नेपाल शिक्षक संघ पर्साका अध्यक्ष प्रदिप कुमार जैसवार, नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद रितेश त्रिपाठी, महेश्वर लाल महतो, विजय पौडेल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रधुम्न प्रसाद गुप्ता लगायत ५० जनाले विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।