वीरगंज, श्रावण ७ । चित्रगुप्त सेवा समितिले वीरगंज वडा नम्बर १ को सिसोबारी टोलमा चित्रांश धर्मशालाको निर्माण कार्य शुरु गरेको छ ।
दुई वर्ष अघि चित्रांश कायस्थ परिवारहरुले डेढ कठ्ठा जग्गा खरीद गरेको थियो । सोही जग्गामा चार तल्ले धर्मशालाको निर्माण शुरु भएको अध्यक्ष प्रभु नारायण कर्णले जानकारी दिनु भएको छ ।
भुइ तल्लामा चार वटा कोठा र एक ठुलो हलको साथै पार्किङ्ग हुने र जग देखि लिन्टर सम्म निर्माण भइ पहिलो चरणको कार्य सम्पन्न भएको अध्यक्ष कर्णले जानकारी दिनु भयो ।
गरीब र निम्न मध्यम वर्गियहरुको घना बस्ती रहेको सिसोबारी टोलमा धर्मशाला को अति खाँचो महशुस गरी निर्माण कार्य शुरु गरिएको र कोठा बनाउन दाताहरुको खोजी भइरहेको बताउँदै कोठा बनाउन चन्दा दिने दाताको नाम सोही कोठामा समेत लेखिने कर्ण बताउनु हुन्छ ।
जग्गा खरीद मा चित्रांश कायस्थ परिवारका साथै नेपाली कांग्रेसका नेता एवम् प्रदेश सभा सदस्य ओम प्रकाश शर्माले ५ लाख रुपैयाँ व्यक्तिगत सहयोग गर्नु भएको र निर्माण कार्यमा यो वर्ष संसदीय कोषबाट १० लाख रुपैयाँ सहयोग दिनु भएको कोषाध्यक्ष दिलीप कुमार कर्णले जानकारी दिनु भयो ।
कोषाध्यक्ष कर्णले वीरगंज महानगरपालिकाले यो वर्ष ५ लाख एवम् कायस्थ परिवार बाट चन्दा स्वरुप ५ लाख रुपैयाँ गरी जम्मा २० लाख रुपैयाँ अहिले सम्म खर्च भएको बताउनु भयो ।
चित्रगुप्त समिति वीरगंजका अध्यक्ष महेश दासले सिसोबारीमा चित्रांश धर्मशाला को निर्माण शुरु भएकोमा खुशी व्यक्त गर्दै कायस्थ परिवारका साथै सबै समुदायलाई सहयोग गर्न अपिल गर्नु भएको छ ।
बीरगंजको वडा न ६ स्थित गिता मन्दिर रोडमा चित्रगुप्त मन्दिर र चित्रगुप्त अतिथि सदन छ । यसै गरी वडा न ३ को छपकैया मा र चित्रगुप्तनगरमा पनि चित्रगुप्त अतिथि सदन रहेको छ ।