वीरगंज, साउन २६ । निषेधाज्ञा उल्लंघन गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा घेराउ गर्न पुगेका नेपाल विद्यार्थी संघ पर्साका ३ जना नेता पक्राउ परेका छन् ।
नेपाल विद्यार्थी संघका पर्सा सभापति बिकास तिवारी, उपाध्यक्ष शेष हजरा र ठाराब क्याम्पस इकाई अध्यक्ष मनोज साह पक्राउ परेका हुन् ।
उनीहरुलाई पक्राउ गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयको गेट अगाडी केहिबेर नेविसंघ आवद्ध विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो ।
पाँच बुँदे माग राखेर शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा प्रहरीले लाठिचार्ज गर्नुको साथै आफूसहित तीन जनालाई पक्राउ गरेको विद्यार्थी नेता मनोज साहले जानकारी दिए ।
वीरगंजमा उपचार नपाएर अनाहकमा ६ जनाको ज्यान गईसकेको छ । जनस्वास्थ्यमा लापरवाही गर्ने निकायलाई कार्वाही गर्नुको साटो प्रशासन मौन छ । त्यसैले शान्तिपूर्ण रुपमा जिल्ला प्रशासन कार्यालय घेराउ गरि प्रदर्शन गरेका हौं, तर एक्कासी प्रहरी आएर लाठिचार्ज गर्नुको साथै पक्राउ गरेर ल्याएको छ, उनले भने ।
प्रहरीको लाठिचार्जबाट आफ्नो ढाड र खुट्टामा चोट लागेको र अन्य थुप्रै साथीहरुलाई पनि चोट लागेको साहले बताए ।
नारायणी अस्पताललाई जेनरल सेवा सुविधा सहित सर्वसाधारणका लागि खुल्ला गरियोस, अस्पतालहरुले भर्ना नगर्दा उपचार नपाएर मृत्यु भएका पीडितहरुलाई न्याय तथा उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, दोषी अस्पताललाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने, कोरोनाले गर्दा खाई कमाई गर्न नसक्ने गरिब तथा सर्वसाधारणलाई राहतको व्यवस्था गर्नुपर्ने र कोरोनाको भयावह स्थितिलाई सामान्य बनाउन उचित स्वास्थ्य सामाग्री, चिकित्सक, सेवा सुविधाको व्यवस्था गर्नुपर्ने जस्तामागहरु राखी जिल्ला प्रशासन कार्यालय पर्सा घेराउ गर्न पुगेका थिए । यता पक्राउ परेका तीनैजना विद्यार्थी नेताहरुलाई पर्सा प्रहरीले मध्यरातमा रिहा गरेको समाचार प्राप्त भएको छ ।