वीरगंज, साउन ३१ । नागरीक समाज पर्साले आज प्रमुख जिल्ला अधिकारी आसमान तमाङ्गलाई कोरोना नियन्त्रण तथा रोकथामकालागी १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
नागरीक समाज पर्साका संयोजक डा. दिपक शाक्यको नेतृत्वमा गएको नागरीक समाजको टोलीले औषधी उपचारको लागी अस्पताल पुगेका बिरामीलाई कोरोना संक्रमित भएको आशंकमा उपचार गर्न अस्वीकार गर्ने निजी अस्पताललाई कानुनको दायरामा ल्याई उपचारको व्यवस्था मिलाउनुपर्ने ।
नेशनल मेडीकल कलेज शिक्षण अस्पताललाई कम्तीमा ३०० बेडको कोभिड अस्पतालको रुपमा सन्चालन गर्न जिल्ला संकट व्यवस्थान केन्द्र पर्साले साउन २३ गते गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने, कोभिड−१९ को रोकथाम र नियन्त्रणका लागि तिब्ररुपमा संक्रमितको पहिचान र उपचारको व्यवस्था मिलाउनुपर्ने ।
महानगरको एक घर एक पिसिआर परीक्षण नितीलाई जनस्तरमा लैजानुपर्ने, नारायणी अस्पताललाई सबै दृष्टीकोणले थप प्रभावकारी व्यवस्थापनकासाथ तत्कालै जनरल अस्पतालको रुपमा संचालनमा ल्याउन र कोरोना सम्बन्धमा सूचनाहरु लिन दिनकालागि एउटा कोरोना हेल्प डेस्क राख्ने तथा नारायणी अस्पतालबाट भइरहेको परिक्षण रिपोर्ट लगायतका काम कार्यवाहीहरुका सम्बन्धमा दिनको एकपटक अस्पताललाई नै आधिकारीक सूचना सम्पे्रेषण गर्न लगाउने ।
कम्तिमा ५०० बेडको कोभिड अस्पताल स्थापनाकालागि संघ तथा प्रदेश सरकारहरुसँग पहल शुरु गर्नुपर्ने, हाल संचालनमा आएका धर्मशालाहरुलाई निःशुल्क क्वारेन्टिन र आइसोलेशन सेन्टरको रुपमा निरन्तरता दिइ आवश्यक्ता अनुरुप थप गर्दै जानुपर्ने आ-आफनो घरमा होम आइसोलेशनमा रहेका कतिपय संक्रमितहरु घरबाहिर हिँडडुल गरिरहेको देखिएकाले तत्काल नेपाल सरकारले जारी गरेको मापदण्ड लागु गर्नुपर्ने ।
कोरोनाको कारण मृत्यु भएपनि आफनो धर्म परम्परा अनुसार अन्तिम संस्कार गर्ने कुरालाई सम्मान गर्न, सीमा नाकाबाट भइरहेको प्रवेशलाई नियन्त्रण गर्न, दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुलाई राहत उपलब्ध गराउन समेत समाजले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । प्रजिअ आसमान तमाङ्गलाई ध्यानाकर्षण पत्र बुझाउने टोलीमा अधिवक्ता कमलमोहन पोखरेल, शैलेन्द्र चौरसिया, समाजसेवी एवं जनता समाजवादी पार्टीकी नेतृ रम्भा मिश्र लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।