वीरगंज, फागुन ६
कालिकामाई गाउँपालिका कार्यालयमा तोडफोडको घट्नामा आफनो गल्ती स्वीकार्दै विद्यार्थीहरूले आत्मआलोचना गरेपछि उत्पन विवाद साम्य भएको छ ।
गाउँपालिकाको वडा नम्बर २ भेडिहारी स्थित सुकई साह विद्यालयमा शिक्षक अभाव भएको भन्दै आन्दोलनमा उत्रिएका विधार्थीहरूले हिजो गाउँपालिका कार्यालयमा तोडफोड गरेका थिए ।
तोडफोड गरेको आरोपमा हिजो पक्राउ परेका १६ जना विद्यार्थी र उनका अभिभावक, जनप्रतिनिधि, गाउँपालिकाका शिक्षक,समाजसेवी तथा स्थानिय नेताहरूबीच छलफल भई समस्या समाधान भएको हो । विधार्थीहरूले अब उपरान्त अराजक र तोडफोड गतिविधिमा संलग्नता नहुने लिखित प्रतिबद्धता गरेका छन ।
गाउँपालिकाले दुई महिना अगाडि शिक्षक नियुक्तीको लागि दिएको सहमती अनुसार शिक्षक पदपूर्ति गर्ने, भौतिक पुर्वाधारका लागि आवश्यक बजेट छुटयाउने लगायतका कार्य गाउँपालिकाले गर्ने अध्यक्ष नथुनी कुशवाहाले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा आज भएको छलफलमा गाउँपालिका उपाध्यक्ष राजेश चौरसिया, वडा अध्यक्षहरू सोनालाल चौरसिया, संजय पटेल, हरिओम साह, पवन तिवारी, शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, सुकई साह विधालयका प्र.अ. उमेश पटेल, नेकपा जिल्ला सदस्य बलिराम साह, स्थानिय शिक्षक, स्थानिय भद्रभलादमी लगायत अभिभावकहरूको सहभागिता रहेको थियो । छलफल पश्चात् अहिले अवस्था साम्य बनेको छ ।