वीरगंज, भदौ ८ । नारायणी अस्पतालका नव आगन्तुक मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुर र वीरगंजको राजनैतिक दल एवम् नागरिक समाज बीचको छलफल सम्पन्न भएको छ ।
सोमबार भएको भर्चुवल छलफलमा नागरिक समाजका अगुवाहरुले वीरगंजलाई ग्रिन जोन बनाउन सामूहिक परीक्षण गर्दै आइसोलेसनको संख्या बढाउनु पर्ने धारणा राखेका थिए ।
छलफलमा नागरिक समाजको तर्फबाट बोल्दै वीरगंजका प्रतिष्ठित उद्योगी एवम् लायन्स क्लबका पुर्व इन्टरनेसनल डाइरेक्टर संजय खेतानले वीरगंजमा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिदै गएको कारण परीक्षणको दायरा बढाएर आइसोलेसनको संख्या बढाउनुको विकल्प नरहेको बताए । उनले जिल्लामा रहेका विभिन्न निजि अस्पतालहरुलाई समेत कोभिड अस्पतालमा परिणत गर्ने नीति सरकारले छिटो भन्दा छिटो ल्याउनु पर्ने बताए ।
वीरगंजमा अक्सिजन प्लान्ट स्थापनाको लागि पहल चलिरहेको बताउँदै हालका लागि मारवाडी सेवा समितिले निःशुल्क अक्सिजन उपलब्ध गराइरहेको जानकारी समेत गराएका थिए ।
त्यसैगरी उद्योगी एवम् वीरगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अशोक टेमानीले पनि समुदायमा पुगेर बढी भन्दा बढी परीक्षण गर्नु आवश्यक रहेको बताए । उनले निजि क्षेत्रबाट सरकारसँग गर्न सकिने पहलका लागि आफुहरु सदैव तयार रहेको बताउँदै नारायणी अस्पतालमा सुधारका लागि मेसु ठाकुरलाई विशेष अभियान चलाउन सुझाव दिएका थिए ।
त्यसैगरी लेखक एवम् वरिष्ठ उद्योगी गणेश लाठले कोरोना संक्रमणको चेन तोड्न लक्षण भएका र नभएका दुवै किसिमका कोरोना संक्रमितहरुलाई आइसोलेट गर्न महत्वपूर्ण भएको बताए । उनले लक्षण नभएका संक्रमितहरु घरमा बस्दा परिवारका अन्य सदस्य समेत संक्रमित हुँदै जाने जोखिम बढेकाले आइसोलेसनको व्यवस्थापन गर्न सबैको पहल आवश्यक रहेको भने । लाठले नारायणी अस्पतालको नियमित सेवाहरुलाई तत्काल शुरु गर्नुपर्ने धारणा समेत राखेका थिए ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सञ्जय ठाकुरले नारायणी अस्पतालको नियमित सेवाहरु सुरु गर्न आफुहरु प्रयासरत रहेको बताए । उनले हाल नारायणी अस्पतालको एक तिहाइ जनशक्ति कोरोनाबाट संक्रमित भइ आइसोलेसनमा रहेको र एक तिहाइ जनशक्ति क्वारेन्टिनमा रहेको कारण अस्पताल सञ्चालनमा समस्या आएको अवगत गराएका थिए ।
डा. ठाकुरले अस्पतालमा जनरल सेवाहरु सुचारु गर्दा स्वास्थ्यकर्मी र विशेषगरी फ्रन्टलाइनमा खटिरहेका चिकित्सक संक्रमित हुने जोखिम बढिरहेकोले अस्पतालमा नयाँ किसिमको भौतिक विकास आवश्यक भएको बताए ।
'एकै पटक धेरै विरामी आउँदा भिडभाड हुने गर्छ, जसले संक्रमण फैलन जोखिम बढी हुन्छ, तसर्थ हामीले प्रविधिको प्रयोग गर्दै इन्फेक्सन प्रिभेन्सनलाई प्रथामिकता दिन आवश्यक छ,’ डा. ठाकुरले भने, 'त्यसैले वीरगंजस्थित सामाजिक संस्था सानो पाइला र अमेरिकामा रहेका नेपालीहरुको सहयोगमा अस्पतालमा नयाँ किसिमको भौतिक विकास गर्न हामीहरु लागेका छौं । नयाँ हुने भौतिक विकासले विरामी र स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्क नहुने भएकोले संक्रमणको जोखिम घट्ने छ ।’
उनले नारायणी अस्पतालमा पिसिआर मेसिन थप्नुका साथ् जनशक्ति पनि उपलब्ध गराउन सरोकारवाला निकायसँग पहल गर्न आग्रह गरे । जनशक्तिको आभावमा ३ देखि ४ सिफ्टमा स्टाफहरु खट्दा समेत प्रयाप्त मात्रामा स्वाबहरु जाँच हुन नसकेको दुःखेसो पोख्दै उनले पिसिआर परीक्षणको दायरा बढाउन जनशक्ति थप्न सबैभन्दा बढी आवश्यक रहेको उनले बताए ।
त्यसैगरी डा. ठाकुरले नारायणीमा आउना साथ कामको बाँडफाँड गर्दै अस्पतालमा रहको एकद्वार प्रणालीलाई आफुले विकेन्द्रीकरण गरेको बताए । उनले सर्वसम्मतबाट आफुले अस्पतालको प्रवक्ता नियुक्त गर्नुका साथै अन्य जिम्मेवारीहरु पनि बाँडिएको जानकारी गराए ।
नागरिक समाजका अगुवा एवम् युवा नेता ओमप्रकाश सर्राफको संयोजकत्वमा भएको छलफलमा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, महासचिव माधव राजपाल, नारायणी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पुरेन्द्र लाभ, नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी, नेपाल कम्युनिष्ट पार्टी पर्साका अध्यक्ष प्रभु हजरा, जनता समाजवादी पार्टीका नेता राम नरेश यादव, सञ्चारकर्मी महेश दास, सामाजिक अभियन्ता प्रकाश थारु, आशु सर्राफ लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।