वीरगंज, भदौ ११ । अब वीरगंजमा पनि प्लाज्मा थेरेपीबाट कोरोना संक्रमितहरुको उपचार शुरु हुने भएको छ । कोरोना संक्रमितहरुलाई कन्भ्यालिसेन्ट प्लाज्मा थेरापी विधिले उपचार शुरु गर्नका लागि नारायणी अस्पताल र रक्तसञ्चार केन्द्र वीरगंजबीच प्लाज्मा बंैक स्थापना गर्ने सहमति भएको हो ।
नागरिक सरोकार समाज वीरगंजको विशेष पहलमा बिहिवार नारायणी अस्पताल र रक्तसञ्चार केन्द्रको पदाधिकारीबीच भएको छलफलपछि प्लाज्मा थेरेपीबाट वीरगंजका विभिन्न कोभिड अस्पतालहरुमा रहेका संक्रमितहरुको उपचार शुरु गरिने सहमति भएको छ ।
विश्वभरनै कोरोना संक्रमितहरुको उपचारमा प्रभावकारी देखिएको प्लाज्मा थेरेपीबाट उपचार शुरु भएपछि भेन्टिलेटरको आवश्यकता घट्ने र काठमाडौँ जाने झन्झटबाट समेत छुटकारा पाउने विश्वास लिइएको छ ।
प्लाज्मा थेरेपीका लागि आवश्यक समन्वय गरेर २-३ दिनमै उपचार शुरु गरिने पहल भइरहेको नागरिक सरोकार समाजका महेश दासले बताए ।
उनले प्लाज्मा थेरेपीबाट उपचार गर्नका लागि रक्तसञ्चार केन्द्रको केन्द्रीय कार्यालयबाट अनुमति चाहिएकोले अनुमति नआउँदा नारायणी अस्पतालले अनुरोध गरे पछि सहमति भएको जानकारी गराए ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुर र वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंहको विशेष सक्रियातामा सहमति भएको हो ।
छलफलमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुर, डा. उदय नारायण सिंह, रक्तसञ्चार केन्द्रका प्रमुख सौरभराज पाण्डेय, नेपाल रेडक्रस पर्सा शाखाका प्रमुख उदय राज शर्मा, नागरिक सरोकार समाजको तर्फबाट सामाजिक अभियन्ता ओमप्रकाश सर्राफ, महेश दास, प्रकाश थारु लगायतको उपस्थिति रहेको थियो ।